धरान । नेपालमा कम्युनिष्ट पार्टीको उदय भएको सात दशक पूरा भएको छ । यस अवसरमा कम्युनिष्ट पार्टीहरूले विविध कार्यक्रम गर्दै स्थापना दिवस मनाउन लागेका छन् ।

२००६ साल बैसाख १० गते स्थापना भएको थियो । अंग्रेजी तारिख भने सन् १९४९ अप्रिल २२ तारिख आजकै दिन स्थापना भएको हो । सोही दिनलाई आधार मानेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज विविध कार्यक्रम गर्न लागेको हो । काठमाडौंको कमलादीमा विशेष कार्यक्रम गर्दै स्थापना दिवस मनाउन लागिएको छ ।

कार्यक्रममा पार्टीको शीर्षस्थ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोमबार नै तात्कालीन एमाले र माओवादी एकीकरण भएको पनि एक वर्ष पूरा भएको छ । यस अवसरमा पार्टीको एकीकरण पूरा भएको जानकारी पनि दिन लागिएको छ । आइतबार बसेको सचिवालयको बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको जनाएको छ ।

उनीहरूको नाम पनि सार्वजनिक गर्ने तयारी गरेको छ । कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ हुन् । उनको तस्बिरमा माल्यापर्ण गर्दै आज स्थापना दिवस मनाउन लागेको हो ।