उसकी हजुरआमाको स्याहार गर्न म छनोट भएकी थिएँ । ऊ एयरपोर्टमा मेरो प्रतीक्षा गरिरहेकी थिई । म उसलाई देखेर उतिर बढें । उसले दुई हात फिँजाएर मलाई अङ्कमाल गरी । मेरो सुटकेश गुडाउँदै अगाडि लम्की । म हाते ब्याग च्यापेर उसको पछि लागें । ऊ कार पार्क गरेको ठाउँमा पुगेर टक्क अडिई । सुटकेश डिकीमा थन्क्याई । जिन्स प्यान्टको गोजीबाट साँचो झिकेर कार स्टार्ट गरी । उसको आत्मविश्वास देखेर ‘वाउ ! क्या जिन्दगी’ सोच्दै उसको छेउमा बसें ।
 
हामी विपरीत ध्रुवका दुई तारा । म अविकसित, अशिक्षित र गरिब मुलुककी महिला । ऊ विकसित, शिक्षित र धनी मुलुककी स्वतन्त्र महिला । मेरो लवाइ, खवाइ, हिँडाइ र बोलाइमा उसको जस्तो उदारता थिएन । मेरो स्वभावमा तीन कुरा झल्किन्थे, डर त्रास र शङ्कोच । ऊ भने डर, त्रास शङ्कोचरहित निस्फिक्री थिई । टाइट जिन्स प्यान्ट र पारदर्शी टिसर्टमा बेरिएको उसको सलक्क परेको शरीर । उसको शरीरबाट आएको अत्तरको वासनाले भने मेरो टाउको घुमाउँथ्यो ।
 
तर म त्यो भाव अनुहारमा आउन दिन्नथें । ऊ भने मेरो शरीरबाट आउने तीतेपातीको सुगन्धलाई दुर्गन्ध सम्झिएर नाक, मुख र निधार एकैचोटी खुम्च्याउँदै बट्टाबाट चुरोट झिकेर सल्काउँथी । उसलाई इरिटेट गराउने त्यो दुर्गन्ध चुरोटको धुँवासँगै फुरुरु पारेर झ्यालबाट बाहिर फुक्थी । म बुझेँ पनि नबुझेको बहानामा घुसे मुन्टो लगाएर हातका औंला खेलाइरहन्थें । घरिघरि आँखा जुद्दा म ङिच्च दाँत देखाइदिन्थें । ऊ पनि फिस्स हाँसे जस्तो गर्थी ।  घर पुर्याएर एक हप्ता जति खाना बनाउने, खुवाउने तौरतरिका र औषधि दिने समय तालिकाबारे सुझाई उसले मलाई । अब म उसकी हजुरआमाको ईशारामा नाच्न सक्ने भएँ । ऊ हामीसँग बस्दिनथिइ । उसको घर हजुरआमाको भन्दा दुई घर मास्तिर पथ्र्यो । दिनको दुई तीन पल्ट फोन गरेर बुझ्थी ‘औषधि दिइस् ? खाना खुवाइस् ?’
 
शुक्रबार किनमेल गरेर ल्याउँथी ऊ । शनिबार बिहान खाना खाने गरी उसका सपरिवार आउँथे । म त्यो घरमा काम गर्न थालेको पत्तै नपाई दुई वर्ष बितेछ । ती दुई वर्षमा उसले दुइटी छोरी जन्माई । उसकी पहिल्यै एक छोरी थिई । अब ऊ तीनटी छोरीकी आमा भई । उसको फेरि अर्को गर्भ रहेको थियो । जन्मेका नानीहरूले भुइँ छाडेका छैनन् । ऊ चाहिँ अझै गह्रुँगी हुँदै कस्तो अचम्म ? म भित्रभित्रै छक्क पर्थें । उकुसमुकुस भएर एक दिन मैले उसलाई सोधिछाडें– एरिका तेरा पहिल्यै तीनटी छोरीहरू छन् । फेरि तँ गर्भवती ? के तीनटी छोरी सन्तानका रूपमा काफी छैनन् र ? उसको मुखबाट मैले नसोचेको जवाफ फुत्त निस्कियो ‘तर एउटा छोरा चाहियो नि ।’
 
उसको छेउमा हाँस्दा असभ्य र उसलाई गिज्याएको हुने । त्यसैले म बाथरूमभित्र छिरेर खित्का छाडेर हाँसेँ । यो सोचेर विकसित मुलुकका प्राणीको गिदीमा अझैसम्म पनि छोरारुपी हाउगुजीले त्रसाउन छाडेको रैनछ । सायद मेरो चर्को हाँसोले उसका कान घोचेछन् क्यार ! उसले बाथरूमको ढोका ढकढक्याउँदै सोधी– आर यू ओके ? यस आइएम ओके । त्यसपछि म ढोका घुरुक्क उघारेर बाहिर आएँ । उसले मेरो अनुहार वाल्ल परेर नियालिरही । तर केही बोलिन ।