विराटनगर/ विराटनगर महानगरपालिका–३ स्थित विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा चिरफार बेगर पथरीको शल्यक्रिया हुने भएको छ । यस अस्पतालमा ‘आर.आई.आर.एस.’ प्रविधिबाट पथरीको शल्यक्रिया हुने भएको हो । यो सेवा एक साताभित्रमा सञ्चालनमा आउने अस्पतालले जनाएको छ । 
 
आर.आई.आर.एस. प्रविधिबाट घाउ नबनाइकन पथरी भएका बिरामीहरूको शल्यक्रिया गरिने विराट नर्सिङ होमका युरोलोजी विभागका डा.जुबिन सिलवालले जानकारी दिए । ‘आर.आई.आर.एस. प्रविधिबाट १० देखि १५ एमएमसम्मको पथरी भएका बिरामीका शल्यक्रिया हुन्छ’ युरोलोजी विभागका डा. सिलवालले भने, ‘यसअघि पिसिएन प्रविधिबाट पथरीको शल्यक्रिया हुने गरेको थियो । पिसिएन प्रविधिबाट पथरीको शल्यक्रिया गर्दा बाहिर सानो घाउ हुन्छ ।’
 
नयाँ आएको आर.आई.आर.एस. प्रविधिबाट पथरी भएका बिरामीको पिसाबनलीबाट किड्नीसम्म पुर्याएर भित्रै पत्थरी फोड्ने गरेको डा. सिलवालले बताए । ‘हामीसँग एउटा दूरबिन हुने गरेको छ । त्यो पिसाबको नलीबाट हालेर किड्नीसम्म पुर्याएर लेजरको माध्यमबाट पथरी फोड्ने गर्दछौं’ उनले भने, ‘फोडेपछि त्यो निकै मसिनो कार्ड हुन्छ । त्यसलाई हामी प्रविधिको माध्यमबाट बाहिर निकाल्छौं ।’ 
 
विराट नर्सिङ होममा नयाँ भित्रिएको आरआईआरएस प्रविधिबाट पथरीको शल्यक्रिया गरिने १ नम्बर प्रदेशमै पहिलो भएको अस्पतालको दाबी छ । 
 
एक करोड रुपैयाँलागतमा आर.आई.आर.एस. प्रविधि ल्याएको अपस्तालले बताएको छ । अस्पतालले पथरी फोड्ने लेजर मेसिन ५० लाख र दूरबिन ४० लाख रुपैयाँमा ल्याएको हो । अस्पतालले ‘आर.आई.आर.एस.’ प्रविधिबाट उपचार गर्ने बिरामीहरूको १ महिनासम्म ५० प्रतिशत छुट योजना ल्याउने जानकारी गराएको छ । यो प्रविधिबाट उपचार गराउँदा १ लाख रूपैयाँ खर्च हुने गरेको छ ।