लक्ष्मीमार्ग । अखिल नेपाल फुटबल सङ्घ एन्फामा एउटै वडाबाट ६ जना खेलाडी छनौटमा परेका छन् । बेलबारी नगरपालिकाको १० नम्बर वडाबाट यसवर्षको अण्डर–१६ मा ६ जना खेलाडी पर्न सफल भएका हुन् ।

एक नम्बर प्रदेशबाट जम्मा १८ जना खेलाडी छनौट भएकामा मोरङबाट १० जना र बेलबारीको १० नम्बर वडा भाउन्नेबाट मात्रै ६ जना अण्डर–१६ मा पर्न सफल भएका छन् । सन याखा, रञ्जित परियार, राहुल राई, सुमित धिमाल, मनोज खुलाल र सजीव मगर छनौटमा परेका हुन् ।

शुक्रबार बेलबारीको १० नम्बर वडा कार्यालयको आयोजनामा छनौट भएका खेलाडीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा उक्त खेलाडीहरूलाई जनही ७ हजार सहयोग रकम प्रदान गरिएको थियो ।

६ जना खेलाडीहरू बेलबारीको राधानगरस्थित एम्ब्रियो फुटबल एकेडेमीमा आबद्ध छन् । उक्त एकेडेमीलाई हालसम्म सिंहदेवी एकेडेमी इङ्लिस स्कुलले सम्पूर्ण खर्च व्यहोरिरहेको स्कुलका सञ्चालक रविन थापाले बताए । छनौटमा परेकामध्ये रञ्जित परियार अण्डर–१५ को राष्ट्रिय टोलीमा सहभागी भएर अन्तर्राष्ट्रिय खेलहरूसमेत खेलिसकेका छन् ।