उदयपुर/ प्रथम जाल्पा गोल्डकपको उपाधि उदयपुरगढी फुटबल क्लबले हात पारेको छ । 
 
जाल्पा स्पोर्ट्स क्लब उदयपुरको आयोजनामा भएको फाइनल खेलमा गाईघाट फुटबल क्लबलाई ४–३ को गोलअन्तरले पछि पार्दै गढीले जित हात पारेको हो । ९० मिनेटको निर्धारित खेलमा २–२ गोलले बराबरी भएपछि खेल टाइब्रेकरमा गएकोे थियो । खेल शुरु भएको ५० सेकेण्डमा गाईघाटका समिरराज राउतले गोल गर्दै खाता खोलेका थिए भने ८० औँ मिनटमा सुनिल खड्काले दोस्रो गोल गरेका थिए । ४८ औँ मिनेटमा गढीका उज्वल चाम्लिङले १ गोल गरेका थिए भने ६५ औँ मिनेटमा सुरज भुजेलले दोस्रो गोल गरेका थिए । 
 
निर्धारित समयसम्ममा खेल बराबरी भएपछि थप गरिएको समयमा पनि कुनै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा गाईघाटका दुई र गढीका १ खेलाडीले गोल गर्न सकेनन् । गाईघाटका अर्जुन मगर, समिरराज राउत र सागर रायले गोल गरे भने गढीका योगेश बुर्जामगर, उज्वल चाम्लिङ, सबिन थापा र विजय भुजेलले गोल गरेका थिए ।
 
प्रतियोगिताको फाइनल खेलमा गढीका विजय भुजेल उत्कृष्ट खेलाडी र गढीकै दिलकुमार लिम्बू उत्कृष्ट गोलरक्षक घोषित भएको आयोजकले जनाएको छ । 
 
उपाधिसँगै उदयपुरगढीले १ लाख १ हजार १ सय ११ रुपैयाँ, शिल्ड र उपविजेता गाईघाटले ५० हजार ५ सय ५ रुपैयाँ र मेडल प्राप्त गरेको हो । उनीहरूलाई त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी र अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता तथा केन्द्रीय सदस्य किरण राईले नगदसहितले सम्मान गरेका थिए ।