भद्रपुर/ झापाको भद्रपुर–१० मा रहेको चैतु मन्दिर युवा क्लबको  आयोजनामा सोमबार धुमधामका साथ हिलो खेलेर सिरुवा पर्व मनाएका छन् ।
 
केटाकेटी, युवा, वयस्क,  वृद्धवृद्धा, सबै हिलाम्मे भएर रमाइलो गरेका थिए । उनीहरूले एक आपसमा हिलो छ्यापेर दिनभर पर्व मनाएका थिए । नयाँ वर्षको आगमनसँगै मनाइने यो पर्वले हावाहुरीको रोकथाम हुने, शरीर नदुख्ने, चर्मरोग नलाग्ने, परिवारमा सुखशान्ति मिल्ने विश्वास लिएर वर्षेनी पर्व मनाउँदै आएको क्लबका उपाध्यक्ष हिरन राजवंशीले बताए ।
 
छरछिमेकी एकै ठाउँमा जम्मा भएर एकसय जनाले १ गते पानी र २ गते हिलो खेलेर पर्व मनाएको उपाध्यक्ष राजवंशीले जनाए । क्लबले चैतु मन्दिर, कमल सिं चोक, केन्द्रमोड, देवनियालगायतका स्थानमा गएर हिलो खेलेको राजवंशीको भनाइ छ । अन्तिम दिन रङ खेलेर समापन गरिने उनले जनाए । नयाँ वर्षको सुरुवातसँगै पूर्वी तराईका आदिवासी कोच समुदायको सिरुवा पर्व चलिरहेको छ । नयाँ वर्षको आगमनलाई स्वागत गर्दै राजवंशी, ताजपुरिया, गनगाई, मेचे, माझीलगायत कोच जातिका समुदायले तीन दिनसम्म सिरुवा पर्व मनाउने गर्दछन् । कोच समुदायमा यो पर्वले निकै महत्व बोकेको छ ।
 
वर्षभरिको रिसरागलाई पानीले पखालेर आपसमा पानी हालेर पहिलो दिन पानी सिरुवा, दोस्रो दिन आफ्नो कुल देवीदेवताको पूजा गर्ने गरिन्छ । वर्षको एक दिन माटोसँग खेलेमा शरीरका रोगहरू नाश हुने मान्यता रहेकाले आपसमा हिलो लगाएर काद सिरुवा खेल्ने र सिरुवाको अन्तिम दिन नयाँ वर्षलाई हर्सोल्लासका साथ रङ खेलेर समापन गरिने प्रचलन रहेको भद्रपुर–१० की निर्मला राजवंशीले बताइन् । परापूर्वकालदेखि आदिवासी समुदायले मनाउँदै आएको सिरुवा पर्व विगतका केही वर्षहरूमा सामुहिक रूपमा मनाउँदै आएको उनको भनाइ छ । 
 
यो पर्वमा विभिन्न परिकार खाने र संस्कृति झल्कने नाचगान गर्ने चलन रहेको इश्वरी राजवंशीको भनाइ छ । झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्दै आएका राजवंशी, थारू, गनगाईं, ताजपुरिया, माझीलगायतका जातिले सिरुवा मनाउने गरेको उनले जनाइन् । सिरुवाका अवसर पारेर जिल्लाको आदिवासी कोच बाहुल क्षेत्रका गौरादह नगरपालिका, गौरीगञ्ज र कचनकवल गाउँपालिकामा स्थानीय सरकारले वैशाख ३ गते मङ्लबार सार्वजनिक बिदा दिएको जनाएका छन् ।