भद्रपुर/ नेपालका विभिन्न जातिमध्ये कुलुुङ जाति विचौलियाका कारण सूचिकृत हुन नसकेको आरोप लगाएका छन् । नेपाल किरात कुलुङ् भाषा संस्कृति उत्थान सङ्घ झापाले शुक्रबार हल्दीबारी गाउँपालिकाकमा आयोजना गरेको चौथो जिल्ला अधिवेशनमा यस्तो बताएका हुन् ।

देशमा लोकतन्त्र संस्थागत भइरहे पनि एकात्मक सत्ताकै आभास भइरहेको उनीहरूले गुनासो गरेका छन् । इतिहास बोकेको किराती मूलको एक आदिवासी भए पनि राईसँग जोडेर उपजाति बनाएकोप्रति असन्तुष्ट जनाएका थिए । लोपोन्मुख जातिलाइ राज्यले पछाडि पारेकोले कुलुङलाइ सूचिकृत गराउन आन्दोलन गरिरहेको वक्ताहरूले बताए । कुलुङको उद्गमस्थल सोलुखम्बुको माहाकुलुङ भन्ने स्थान हुँदै सङ्खुवासभा, भोजपुर, इलाम, झापा, मोरङ्, सुनसरी लगायतका २२ जिल्लामा छरिएर रहेको उत्थान सङ्घका केन्द्रीय अध्यक्ष चन्द्रसिंह कुलुङले बताए ।

नेपालमा मात्र नभई भारत, भुटान, हङकङ, बेलायत, सिङ्गापुर, मलेसिया, कोरियालगायतका देशमा बसोबास रहेको उनले जनाए । २०६८ को जनगणना अनुसार २८ हजार ६ सय १३ र मातृभाषीहरूको सङ्ख्या ३३ हजार १ सय ७० देखाइएको उनको भनाइ छ । राईबाट अलग गर्ने हो भने अढाई लाखभन्दामाथि यो जाति हुनसक्ने अनुमान गरिएको उनको दाबी छ । त्यसैगरी सङ्घले विभिन्न साङ्गीतिक कार्यक्रमका साथ साधारणसभा सम्पन्न गरेको थियो ।

सङ्घका अध्यक्ष क्षितिजसोनुर कुलुङको सभापतित्व तथा हल्दीबारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरीको प्रमुख आतिथ्यमा सम्पन्न्न भएको थियोे । प्रमुख अतिथी गिरीले गाउँपालिकामा समावेशी समिति निर्माण भइरहेकोले तत्काल सूचिकृत हुन अनुरोध गरेका थिए । सामवेशी समितिको उपस्थितिमा बजेट तर्जुमा गरेर उत्पादनमूलक कार्यक्रममा बजेट छुट्याउने बताए । स्थानीय सरकार भएकोले अन्य दुई तहमा जान आवश्यक नरहेको हुँदा जातजातिलाइ संरक्षण गर्न जस्तोसुकै सहयोग गरिने उनको भनाइ थियो ।

कार्यक्रममा मोरङ्की कोषाध्यक्ष आरती कुलुङ्ले समग्र कुलुङ् जातिलाई जुनसुकै कार्यक्रमको लागि भइपरी आउने समस्यालाई मध्यनजर गरी काठमाडौंमा २ करोडको लागतमा भवन निर्माण गरिरहेको बताइन् । सरकारले सुनुवाइ नगरेपछि सबै कुलुङ मिलेर भवनलगायत अन्य भइपरी आउने विषयमा सहयोग रकम उठाउँदै आएको उनको भनाइ छ ।

डिगवीर कुलुङ र मोरङ सचिव जय कुलुङले स्वागत गरेको कार्यक्रममा केन्द्रीय सदस्य गजेन्द्रमणि, प्रेम, वडा सदस्य नेत्रबहादुर गिरी, मोरङ अध्यक्ष नरबहादुर लगायतले बोलेका थिए । सोही भेलाले आगामी तीन वर्षे कार्यकालका लागि डिगवीरको अध्यक्षतामा ११ सदस्य कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा इन्द्र, सचिवमा दिलु, सहसचिव केवल र कोषाध्यक्षमा कमला चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा बिर्ख, धनबहादुर, सरस्वती, कनकराज, हुकुमराज र महेन्द्र कुलुङ चयन भएको सङ्घले जनाएको छ ।