सिरहा/ नयाँ वर्षलाई स्वागत गर्दै देशका विभिन्न ठाउँमा उत्सव र रमझम चलिरहेका छन् । सिरहाको सहलेश फुलबारीमा भने नयाँ वर्षको स्वागतमा फूल फुलिदिन्छ ।
 
सिरहास्थित लहान नगरपालिका–१२ मा पर्ने सलहेश फुलबारीमा वर्षको एकपटक वैशाख १ गते मात्र फूल फुल्ने र साँझ ओइलिएर जाने गरेको छ । जसका कारण नेपालमै सलहेश फुलबारीले एउटा फरक पहिचान बनाएको छ । 
 
सिरहाको लहान बजारदेखि पाँच किलोमिटर पश्चिममा छ सहलेश फूलबारी । यहाँ पूजाअर्चना गरे मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । यो फूलबारीमा राजा सलहेश फूल टिप्न जान्थे भन्ने किंवदन्ती रहेको छ ।
 
सहलेशलाई उनकी प्रेमीका कुशमा मालिनीले हरेक दिन त्यहाँ फूलको माला अर्पण गर्थिन् भन्ने किंवदन्ती छ । त्यही प्रेमको प्रतीकका रूपमा आज पनि त्यहाँ फूल फुलेको जनविश्वास छ । आज बेलुकासम्म यो फूल आफै ओइलाउँदै जान्छ ।
 
वि.सं. १३२५ ताकाका प्रतापी राजा सहलेशको सौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरूको सम्झनास्वरूप प्रत्येक वैशाख १ गते यहाँ परम्परागत मेला लाग्ने गर्छ । राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेमगाथाको रूपमा लहान बजारदेखि पाँच किलोमिटर पश्चिममा रहेको करिब १० बिघाको प्राचीन फूलबारी छ । त्यहाँको दुईवटा हारम प्रजातिको रुखमा प्रत्येक वर्षको वैशाख १ गते माला आकारको सेतो फूल फुल्छ । 
 
फूल र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाहीदेखि भारत विहारका लाखौं सर्वसाधारण यहाँ आइपुग्छन् । फूल फुल्ने स्थान र राजा सलहेश तथा उनकी प्रेमीका मालिनीको मन्दिर र मूर्तिहरू विशेष रूपले सजाइएको छ । राजा सहलेश प्रत्येक दिन सिरहा सदरमुकामस्थित आफ्नो राजधानी महिसोथा गढबाट कमल दहमा स्नान गरी फुलबारीमा आफ्ना साथीहरूसँग कुस्ती लडेपछि प्रेमिका मालिनीसँग वनविहार गर्ने किंवदन्तीको स्मरण गर्न आजको दिनमा यहाँ लाखौं मानिसहरूको उपस्थिति रहने गर्छ ।
 
यो फुलबारीमा आएर पूजा गरे भाकल पूरा हुने विश्वास सर्वसाधारणको छ । राजा सहलेश तथा मालिनीको प्रेम दिवसको रूपमा मनाइने वैशाख १ गतेका दिन सोही फुलबारीमा रहेको मालिनी मन्दिरअगाडि कतिपय जोडी विवाहसमेत गर्ने गर्छन् ।
को थिए राजा सहलेश ?  
 
मिथिलाको हावापानी, गाउँघर, पशुपंक्षी, वनजङ्गल सर्वत्र लोकप्रिय पात्र हुन् राजा सहलेश । राजर्षी जनकपछि मिथिलामा उनलाई प्रादुर्भाव भएको व्यक्तित्व मानिन्छ । पाँचौं–छैठौं शताब्दीतिर मिथिलामा आफ्नो पराक्रम र चमत्कारिक नेतृत्वले गर्दा आजसम्म उनको चर्चा छ । महिसोथा, हालको सिरहा नगरपालिका वडानम्बर ८ मा उनको जन्मस्थल रहेको  छ  । उनको वास्तविक नाम भने राजा जयवद्र्धन सैलेश रहेको थियो । यिनी कुनै दन्त्यकथाका पात्र होइनन्, न त पुराणका यशस्वी राजर्षी नै हुन् । उनी त्यतिबेला राजा भए तापनि लोक कल्याणमा सक्रिय थिए, जसकारण उनी जनताका प्रिय पात्र बनेको बताइन्छ । त्यसैले आज आम मानिस नै यिनको अमरत्वको रक्षक बनेका छन् । उनको व्यक्तित्वमा अचम्मको आकर्षण छ ।
 
प्रेम, प्रकृति, सौर्य, न्याय र नेतृत्व सबै गुणमा उनी सबल मानिन्थे । सहलेशमात्र नभएर उनका सहयोगी पात्रहरू पनि देउता झैँ पुजिन्छन् । पूर्वी नेपाल र उत्तरी विहार अर्थात् मिथिला क्षेत्र सहलेशको कर्मथलो रह्यो । मिथिलामा अन्याय, अत्याचार र अराजकता बढेको समयमा सहलेशको प्रादुर्भाव भएको थियो । उनलाई मिथिला क्षेत्रमा अन्याय र अत्याचार विरुद्ध लडेका विद्रोही पात्रका रूपमा समेत चिनिन्छ । उनलाई तराईंको दुसाध समुदायले अहिले पनि भगवानका रूपमा पूजा गर्ने गर्छन्  ।
 
पर्यटकीय गन्तव्यको सूचीमा 
यो क्षेत्रलाई पर्यटकीय क्षेत्र विस्तार गर्ने सिलसिलामा सरकारले नयाँ पर्यटकीय गन्तव्यहरूको सूचीमा राखेको छ । सिरहाको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा रहेको सहलेश फूलबारी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सार्वजनिक गरेको १०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा परेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउँदै सो वर्ष २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले नयाँ पर्यटकीय गन्तव्यहरू पहिचान गरेको हो ।
 
सहलेश फुलबारीको संरक्षण र मेलाको उचित व्यवस्थापन गर्न कुनै पहल नभएको गुनासो उठिरहेका बेला सरकारले सहलेश फूलबारीलाई नयाँ पर्यटकीय गन्तव्यहरूको सूचीमा समावेश गरेको हो । ढिलै भए पनि सरकारले सहलेश फूलबारीलाई पर्यटकीय क्षेत्रको रूपमा मान्यता दिएपछि जिल्लाकै समग्र विकास हुने विश्वास बढेको स्थानीयवासी तथा साविक पडरिया गाविसका पूर्वअध्यक्ष मागैन कामैत बताउँछन् । 
 
सहलेश तराईका पासवान जातिका इष्टदेव रलोकनायक भएकाले सहलेशको पूजाअर्चना गर्नाले मनोकांक्षा पूरा हुने, सन्तान प्राप्त हुने, चर्म रोग, कुष्ठरोगलगायत रोगव्याधि हरण हुने जनविश्वास समेत रहेको छ । फुलबारीभित्र दुर्लभ जातिका जडीबुटीहरू खोज्न भारतको विहार, पश्चिम बङ्गाल र नेपालका विभिन्न जिल्लाबाट लाखौं मान्छे आउने गरेका छन् ।