यासोक (पाँचथर) । पाँचथरको कुम्मायक गाउँपालिकाले परेवा संरक्षण गर्न दश लाख रुपैयाँ विनियोजन गरेको छ । यासोक बजारको केन्द्रमा रहेको परेवाको गुँड संरक्षण गर्न भन्दै गाउँपालिकाले रकम विनियोजन गरेको हो ।
कुम्मायक र कुसायक धार्मिक स्थलमा उडाएका परेवारको संरक्षणका लागि गुँड निर्माण गरिएको थियो । ३० वर्ष पुरानो गुँड जीर्ण भएको भन्दै गाउँपालिकाले दीर्घकालीन परेवाको व्यवस्थापन गर्न लागेको हो । आर्थिक वर्ष ०७५/७६ मा परेवा संरक्षणमा २ लाख विनियोजन गरेको थियो । तर उक्त रकमले परेवाको संरक्षण गर्न समस्या हुने भन्दै दुई लाखबाट दश लाख पुर्याएको हो ।

चैतमा सम्पन्न भएको गाउँपालिकाको हिँउदे अधिवेशनबाट उक्त रकम विनियोजन गरेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । परेवाको गँुड निर्माण र संरक्षण गर्न उपभोक्ता समिति गठन गरी काम गर्न लागेको उनले जनाए ।

गाउँपालिकाको धार्मिक स्थलमा उडाएको परेवाको संरक्षणका लागि स्थानीयले दानापानीको व्यवस्था गर्दै आए पनि पर्याप्त नहुँदा गुँड निर्माणको आवाज पेचिलो बनेको थियो ।
परेवाको गुँड गाउँकै पहिचान

अधिकांश स्थानीय तहले केन्द्रमा विभिन्न स्तम्भ निर्माण गर्दै आएका बेला कुम्मायक गाउँपालिकाले गाउँको पहिचान परेवाको गुँडलाई मानेको छ ।

बजारको केन्द्रमा पुग्ने आन्तरिक र बाह्य पर्यटकहरूले कलात्मक शैलीमा निर्माण गरिएको परेवाको गुँडमा सेल्फी र फोटो खिच्ने समेत गर्दै आएका छन् । पर्यटकहरूले धार्मिक स्थलमा उडाउने परेवा मन्दिरको नाम लिँदै सोही गुँडमा सुरक्षित राख्ने गरेका छन् । परेवाको गुँडसँगै गोठसमेत निर्माण गरिने प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भट्टराईले जनाए ।

गाउँपालिकालाई चिनाउने परेवाको गुँड र गेट निर्माणका लागि रकम विनियोजन भएको भन्दै यसको तयारी समेत शुरु गर्न लागेको भट्टराईले जोड दिए । लामो समयदेखि परेवाको बिजोग भइरहेका बेला स्थानीय सरकारले सम्बोधन गर्न लागेको भन्दै स्थानीयले खुसी समेत व्यक्त गरेका छन् ।