धरान । २०७५ सालमा सार्वजनिक भएका अधिकांश नेपाली फिल्महरूले घाटा खाए । फिल्म नचले पनि अभिनेतृ स्वस्तिमा खड्काका लागि यो वर्ष सुखद् रह्यो ।

मिस टिन २०१३ को उत्कृष्ट पाँचसम्म पुगेकी स्वस्तिमा ‘होस्टल रिटन्र्स’ फिल्मबाट अभिनय यात्रा शुरु गरेकी थिइन् । धेरै वटा म्युजिक भिडियोमा अभिनय गरेकी उनले पहिलो पटक सिने गुरुङको ‘मधुरो रात’ गीतमा मोडलिङ गरेकी थिइन् । फिल्म यात्रामा भने ‘दुई रुपैयाँ’ फिल्मको गीत ‘कुटुमा कुटु सुपारी दाना’ चलेसँगै स्वस्तिमा चिनिइन् । यो वर्ष उनले अभिनय गरेका फिल्महरूबाट राम्रै छाप छाड्न सफल भइन् । उनले अभिनय गरेको ‘नाई नभन्नु ल ५’ ले पनि राम्रै व्यापार गर्यो ।

फिल्मले सोचे जस्तो व्यापार नगरे पनि ‘जय भोले’ बाट उनको अभिनय खारिएको देखियो । उनले टेम्पो चालक भएर अभिनय गरेको फिल्म ‘बुलबुल’ बाट त स्वस्तिमाको चौतर्फी चर्चा भयो । फिल्मले व्यवसायिक सफलता नपाए पनि यसबाट स्वस्तिमालाई फाइदै फाइदा भयो । अघिल्लो वर्ष सामान्य रहेकी स्वस्तिमा यो वर्ष ‘राम्रो अभिनय गर्ने कलाकार’ का रूपमा चिनिइन् ।