धरान । धरान उपमहानगरपालिका–९ को पूर्णपथ, गौतमपथ र बगैंचालाइनमा वडा कार्यालयले नाली सफा गर्न निकालेको फोहोर अलपत्र छाडिँदिँदा दुर्गन्ध फैलिएको स्थानीयले गुनासो गरेका छन् ।
पाँच दिनअघि निकालिएको फोहोर सडकभरी छाडिएको छ । फोहोरका कारण पसल सञ्चालन गर्ने र बाटो हिड्ने पैदलयात्रीलाई समेत समस्या भएको पूर्णपथमा व्यापारी यज्ञबहादुर वनले बताए । उनी भन्छन्, ‘पसल अगाडि सडकैभरी फोहोर थुपारिदिएका छन् । ग्राहकहरू दुर्गन्धले मुख छोपेर हिड्छन् ।

हामी व्यापारीले यही फोहोरले बिरामी पर्न थालेका छौं ।’ पूर्णपथको नाली ६ वर्षदेखि सफा गरिएको थिएन । सफा गरिएपछि ट्याक्टरमा उठाएर लैजान आग्रह गर्दा पनि ट्याक्टर बिग्रिएको बहाना बनाएर नउठाइएको वनले गुनासो गरे । उनले भने, ‘अहिले पानी परेका बेला फोहोरको लेदो जिउभरी लाग्छ । घाम लाग्दा धुलोले हैरान पार्छ । बरु सफा नगरिदिएको भए हुन्थ्यो ।’

पूर्णपथकै व्यापारी प्रवीण राई एकैपटक नाली सफा गरिएको पुतलीलाइनमा तुरुन्तै फोहोर हटाइए पनि पूर्णपथ, गौतमपथलगायतमा पाँच दिनसम्म फोहोर थुपारिएको बताउँछन् । धरान उपमहानगरपालिका र वडा कार्यालयले पनि वेवास्ता गरेको स्थानीयको गुनासो छ । राई भन्छन्, ‘सधै आउने ग्राहकहरू पनि अहिले पसल अगाडि थुकेर हिड्छन् । हामीलाई बसिसक्नु छैन ।’

वडा कार्यालयले धरान–९ भरिका नालीको फोहोर निकाल्न ७५ हजारमा ठेक्का लगाएको थियो । ठेक्का पाएका व्यक्तिहरूले फोहोर निकालेर छाडेका थिए । त्यसपछि वडाकै १२ हजार बजेटबाट पुतलीलाइन, आचार्यलाइनलगायतका नालीबाट निकालिएको फोहोर ट्याक्टरमा उठाइयो तर पूर्णपथ, गौतमपथ, बगैंचालाइनलगायतको फोहोर भने बजेट अभावले उठाउन नसकेको धरान–९ का वडाध्यक्ष रत्न कटुवालले बताए । उनले उठाउन बाँकी भएका ठाउँमा उपमहानगरपालिकाले उठाउने जिम्मा लिएको बताए । उनले भने, ‘नालीको फोहोर हिलो भएकाले सुकोस् भनेर पर्खिएको हो । एकदुई दिनभित्र उठाउँछौं ।’