धरान । भारतमा बिहीबारदेखि संसद्को तल्लो सदन अर्थात् लोकसभाको निर्वाचन शुरु हुँदै छ ।

सात चरणमा हुने मतदान मे १९ तारिखसम्म चल्ने छ । मतगणना भने मे २३ तारिखदेखि शुरु हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यो मतदानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि जनमत सङ्ग्रहको रूपमा हेरिएको छ । पहिलो चरणमा १० औं लाख भारतीयहरूले मतदान गर्दै छन् ।

पहिलो चरणमा २० वटा राज्य र केन्द्र शासित क्षेत्रका ९१ वटा निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । देशभर कुल ९० करोड मतदाता रहेका छन् । यो चुनाव हालसम्मकै ठूलो चुनावको रूपमा हेरिएको छ ।

हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीले सन् २०१४ को चुनावमा भारी मत प्राप्त गर्दै नरेन्द्र मोदी प्रधानमन्त्री बनेका थिए । लोकसभामा ५४३ सिट छ । सरकार बनाउनका लागि कुनै पनि पार्टीले कम्तीमा २ सय ७२ सिट प्राप्त गर्नुपर्ने छ । विजेपी र कङ्ग्रेसलाई बलियो दाबेदारको रूपमा मानिएको छ ।

यी दुई पार्टीले नै लोकसभामा आफ्नो पक्षमा मत पार्ने विश्वास गरिएको छ । दुई दिनअघि मात्रै छत्तिसगढ क्षेत्रमा विजेपीका एक विधायकसहित ५ जनाको ज्यान जाने गरी माओवादीले ब्लाष्ट गरेको थियो । मोदीको पार्टीले यसपटक केही आलोचित पनि बनिरहेको छ । यसकारण पनि उसको चुनावी माहौल के हुने भन्ने आशंका गरिँदै छ ।

अघिल्लो चुनावमा ६६ प्रतिशत मत खसेको थियो भने यसपटक ९० करोड योग्य मतदाता छन् । त्यसमध्ये कति प्रतिशत मत खस्ने हो त्यो हेर्न बाँकी छ । स्मरण रहोस् सन् १९५१ र १९५२ मा भएको भारतको पहिलो ऐतिहासिक चुनाव सकिनका लागि तीन महिना लागेको थियो । त्यसयता महिनौं लगाएर भारतमा चुनाव हुँदै आएको छ । सबैभन्दा छोटो अवधिमा चुनाव सकिएको सन् १९८० मा हो । जुन बेला चार दिनमै चुनाव सम्पन्न भएको थियो ।