भोजपुरको आमचोक गाउँपालिका प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईको निर्वाचन क्षेत्र तथा गृह गाउँ हो । यस गाउ“को नेतृत्व आमचोक ३  थिन्दिङ्खाका युवा अशोक राईले गरेका छन् । तत्कालीन माओवादी केन्द्रबाट स्थानीय तहको निर्वाचनमा विजयी भएका राई धरानको महेन्द्र क्याम्पसमा स्नातक गरेर धनकुटा बहुमुखी क्याम्पसबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका युवा हुन् । २०५३ सालदेखि अखिलको राजनीति गरेका राई हाल नेकपाको जिल्ला कमिटीमा पनि छन् । पहिलो गाउँसभामा आफूलाई चढ्ने सुविधाको गाडी नकिनेर एम्बुलेन्स खरिद गरी चर्चामा आएका राईले आमचोकको बृहत्तर विकासका लागि नयाँ परियोजनाहरू ल्याएका छन् । उनी प्रदेश सरकारलाई विभिन्न गुरु योजनासहित प्रस्ताव पेश गर्ने गाउँपालिका पहिलो अध्यक्ष पनि हुन् । प्रदेश–१ का नाम चलेका उपमहानगरहरू धरान, इटहरीलगायतले पर्यटनलगायतका गुरु योजना बनाएका छैनन् तर उनले गत आर्थिक वर्षमै विकासका खाका तथा गुरु योजना बनाएर काम शुरु गरेका छन् । उनले कृषि, पर्यटनलाई उच्च प्राथमिकतामा राखेर पढेको ज्ञानलाई सदुपयोग गरिरहेका छन् । प्रस्तुत छ ‘समृद्ध आमचोक, सुखी आमचोकवासी’ नारा सिद्ध पार्न आमचोकमा के–कस्ता विकास निर्माणका योजना सञ्चालनमा छन् भन्ने विषयमा उनले राखेका विचारः– 
  •  कृषिमा चिया र अलैंची खेतीलाई प्रथामिकता 
आमचोक भोजपुरको ओझेलमा परेको गाउँपालिका हो । यहाँको श्रीवृद्धिका लागि हामीले कृषिलाई बढी प्राथमिकता दिएका छौँ ।  त्यसैअनुरूप गाउँपालिकाको बजेट विनियोजन गरेर काम अघि बढाएका छौं । यहाँ चिया र अलैंचीको ठूलो सम्भावना छ । यूँ तथा वासिङथर्पूमा रहेका झण्डै पाँच हजार रोपनी सरकारी खाली जमिनको सदुपयोग गर्दैछौं । यो वर्ष २५० रोपनी जग्गामा  १ लाख २० हजार चियाको विरुवा रोपेका छौँ । त्यसको रेखदेख गाउँपालिकाले गर्छ ।  यसका लागि ८२ लाख बजेट छुट्याई काम भइरहेको छ । गाउँपालिकाले प्रत्येक घर–परिवार शेयर सदस्य रहने गरी चिया सहकारीसमेत शुरु गरेको छ । प्रतिघर १ हजार शेयर बनाएर सहकारी सञ्चालन गरिएको छ । 
यस्तै पञ्चवर्षीय कृषि योजना बनाइ अलैंचीका लागि पकेटक्षेत्र वासिङ, थर्पू, यूँ, थिन्दिङ्खा, बालङ्खा, बयाङ, देवानटार, पाङ्चालगायतका क्षेत्र पहिचान गरी अलैंची खेती शुरु गरिएको छ । यो योजनाअन्तर्गत कोशी किनारका क्षेत्रमा आँप, लिची, नरिवल, सुपाडी एभोकाडो, कागतीलगायतका फलफूल लगाइने छ । ३५ लाख बजेट विनियोजन गरी कृषकलाई प्रोत्साहन गर्न तरकारी खेती, उन्नत जातको बिउबीजन, कृषि औजार खरिदका लागि पनि बजेट विनियोजन गरिएको छ । 
  •  पर्यटनमा गुरु योजना बनाएर काम शुरु 
हामीले सुनसरी, उदयपुर र खोटाङसम्म आउने पर्यटकहरूलाई भोजपुर ल्याउन यहाँका ऐतिहासिक, पुरातात्विक, धार्मिक महत्वका स्थानहरू पहिचान गरी संरक्षण शुरु गरेका छौं । आमचोक पर्यटकीय गुरुयोजना गत आर्थिक वर्षमा नै बनाई धिन्ताङ, थामडाँडा पर्यटकीय क्षेत्र, पाङ्चा सिद्धथुम्का डाँडा पर्यटकीय क्षेत्र, दूधकोशी किनार पर्यटकीय क्षेत्र, किरातहरूको ६०० वर्ष पुरानो छुम्खा चण्ढीथानको संरक्षण र प्रचार शुरु गरिएको छ । 
थामडाँडा जहाँबाट सूर्योदय तथा तराईका सुन्दरफाँटहरू अवलोकन गर्न सकिन्छ । त्यहाँ पोखरी र भ्यूटावर निर्माण भइरहेको छ । आमचोक गाउँपालिकाको सदरमुकाम बालङ्खाको बीच बजारमा रहेको पाडुले पोखरीलाई व्यवस्थित बनाएर पार्क निर्माण कार्य भइरहेको छ । करिब ४० प्रतिशत काम सकिएको छ । स्थानीय बूढापाकाको भनाइअनुसार उक्त पोखरी नजिक एउटा ‘पाडुले नाम गरेको कुकुर बसोबास गथ्र्यो । त्यो कुकुर पोखरी नजिक रहेका गुफाबाट छिरेर एक किमी तल निस्कने गर्दथ्यो । गाउँको सुरक्षा उक्त कुकुरले गर्दथ्यो । पोखरी उत्खनन्को क्रममा गुफा पनि देखिएकाले संरक्षण गरी उक्त पोखरीको बीचमा कुकुरको आकृति पनि निर्माण गरिएको छ । २५ लाख लागतमा काम भइरहेको छ । १५ लाख गाउँपालिकाबाट जुटाएका छौं । अपुग रकम सहयोगीले दिँदै हुनुहुन्छ । हाल ५ लाख जति अपुग छ । आमचोक सुनसरी सरोकार समाजले पनि केही सहयोग जुटाइरहेको छ । 
  • सहकारीमार्फत् कृषकलाई सौलियत ऋण
स्थानीयलाई उद्यमशील तथा स्वरोजगार बनाउन गाउँपालिकामा रहेका ८ वटा सहकारीमार्फत् सहुलियत ऋण तथा अनुदानको व्यवस्था गरिएको छ । गरिबी निवारणको ४० लाख बजेट न्यूनत्तम ब्याजमा कृषकहरूलाई रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । 
  •  सडकमा पौने ४ करोड बजेट
कुनै पनि क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनका लागि मुख्य कुरा सडक नै हो भन्ने लागेर बढी लगानी सडक विस्तारमा गरिएको छ । प्रदेश सरकारले पनि यस क्षेत्रका सडकमा लगानी गरेको छ । उदयपुरको रानीटार, बालाङ्खा–पामाखाम भञ्ज्याङसम्मको ५१ किमी सडक ग्रावेलका लागि प्रदेश सरकारले १० करोड विनियोजन गरेको छ । बालङ्खाबाट हतुवागढी जोड्ने १८ किमी सडकका लागि पनि बजेट व्यवस्था गरिएको छ । प्रत्येक वडामा जाने सडक निर्माण भइसकेका छन् । मर्मत तथा सफा गर्न २४ जना सडक हेरालुहरू खटाइएको छ । 
  •  शिक्षामा सवा करोड लगानी
गाउँपालिकाले चण्डेश्वर मावि, बयाङको क्षमाकन्या मावि, दुङ्मानाको जनशिक्षा आधारभूत विद्यालयलाई नमूना विद्यालय छनोट गरी सुधारका कार्यक्रम शुरु गरेको छ । ४३ वटा विद्यालयहरूको शैक्षिक सुधारका लागि ‘विद्यालयसँग गाउँपालिका कार्यक्रम’ लागू गरिएको छ । विद्यालय सुधारका लागि अन्तक्र्रिया, छलफल, भौतिक पूर्वाधार निर्माणका लागि सहयोग गर्दै आएको छ । 
  • जनता राहत कोष खडा
विपद्मा परेका नागरिकलाई तत्काल सहयोग गर्न गाउँपालिकाको कुनै बजेट नहुँदा उनीहरूले सहयोग नपाएर निरास नहुन भनेर ‘जनता राहत कोष’ खडा गरिएको छ । प्रत्येक जनप्रतिनिधिको तलवबाट २ प्रतिशत कट्टा गरी उक्त राहत कोषमा जम्मा गरिएको हुन्छ । कोही नागरिक आपत्मा पर्दा तत्काल त्यो राहत कोषको पैसा खर्च गर्ने व्यवस्था गरिएको छ । ५४ जना जनप्रतिनिधिबाट वार्षिक ३ लाख सङ्कलन हुँदै आएको छ । उक्त कोषबाट नागरिकले ठूलो राहत पाएका छन् ।
  •  गरिबका लागि ‘विपन्न आवास कार्यक्रम’
घर बनाएर बस्ने क्षमता नभएका नागरिकका लागि हामीले गाउँपालिकाबाट घर पनि निर्माण गरि दिएका छौं । गत वर्ष दुङ्माना, यूँ, थिन्दिङ्खा, बयाङ र देवनटारमा गरी ५ वटा परिवारका लागि घर निर्माण गरिएको छ । यो वर्ष ५ वटा बनाउन १८ लाख बजेट छुट्याइ काम भइरहेको छ । 
  •  प्रत्येक वडामा इन्टरनेट
प्रविधिको युगमा गाउँपालिकालाई प्रविधिमैत्री बनाउन प्रत्येक वडामा इन्टरनेट पु¥याउने गरी काम शुरु भएको छ । त्यसका लागि ६ लाख बजेट विनियोजन गरिएको छ । बाङ्खा र दुङ्मानामा थ्रीजी राखिएको छ ।  केन्द्रीय प्रशारण लाइनलाई आमचोक जोड्ने काम भइरहेको छ ।  यो वर्षभित्र आमचोक पुग्नेछ । 
  • आमचोकका बौद्धिक व्यक्तिलाई गाउँ फर्काउने अभियान 
हामीले यहाँ जन्मेर विभिन्न स्थानमा बसोबास गर्ने आमचोकवासीलाई गाउँ फर्काउने अभियान पनि चलाएका छौं । उहाँको विज्ञता यहीँ उपभोग गर्ने गरी काम अघि बढाएका छौं । ५ वर्षभित्र देशविदेशमा रहेका विज्ञ व्यक्तिहरू आमचोक फर्किएर यहीँ योगदान दिने वातावरण तयार गरिरहेका छौँ ।