सिराहा /  प्रदेश नम्बर २ । प्रदेश नम्बर २ का पर्सा र बारका जिल्लामा आइतबार साँझमा एक्कासी आएको ठूलो हावाहुरीका कारण ३५ जनाको मृत्यु भएको छ । त्यस मध्य बारामा ३४ जनाको र पर्साको १ जना गरी जम्मा ३५ जनाको मृत्यु भएको पुष्टी भएको छ । उद्धार तथा घाइतेको उपचार भइरहेको छ ।

प्रभावित जिल्लाहरूमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी वलका सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालित गरिएका छन् । गम्भीर प्रकृतिका घाइतेको संख्या धेरै भएको हुँदा क्षतिको विवरण अझै बढ्न सक्ने बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए । अस्पतालमा विरामीको चाप बढेसँगै घाइतेहरुको उपचापर निःशुल्क गर्न दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निर्देशन दिएका छन् । हावाहुरीले धेरै ठाउँमा यात्रुवाहक सवारीसाधन पल्टाउनुका साथै माटोबाट बनेका घरहरूमा क्षति पुगेको छ । बिजुली र टेलिफोनका पोलहरू लडेर, टिनका छाना उडाएर र पर्खाल लडेर समेत मानिसहरू हताहत भएको छ । अस्पतालहरूको क्षमताभन्दा निकै धेरै घाइतेहरू भएका कारण भुइमै राखेर उपचार थालिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले तत्कालका लागि बासस्थानका के गर्न सकिन्छ, त्यो गर्ने र पीडितहरुको पुनर्वासका लागि पहल गर्ने बताए । ‘तत्काल बाँसस्थानका लागि उहाँहरुलाई के गर्न सकिन्छ, त्यो राहत पुयाउने काम गरिन्छ । उहाँहरुको बासस्थान निर्माण र पुनर्वासमा पनि प्रदेश सरकारको सक्रिय सहयोग रहने छ ।’–मुख्यमन्त्री राउतले भने ।

प्रधानमन्त्री ओलीले भने राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन

1 (1) copy
प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापाबाट सिधै बारा पुगेका छन् । उनले बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिए । प्रधानमन्त्री ओलीलाई बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाबारे जानकारी गराएका थिए । हावाहुरीले बाराका कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको जनाइएको छ ।

विद्युत् प्राधिकरणको १५ करोडको क्षति
नेपाल विद्युत् प्राधिकरणको रु १५ करोड बराबरको क्षति भएको छ । बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले जनाएको छ । संरचनामा परेको क्षतिका कारण विद्युत् प्रवाहमा समस्या पैदा भएको छ । वीरगञ्जमा हावाहुरीका कारण विद्युत् प्रवाहमा समस्या आएको छ भने बाराको सदरमुकाम कलैयामा विद्युत् आपूर्ति नियमित रहेको छ । हावाहुरीका कारण परवानीपुर–वीरगञ्ज ६६ केभी डबल सर्किट प्रसारण लाइनमा क्षति पुगी विद्युत् आपूर्तिमा समस्या आएको छ । यस्तै वीरगञ्ज–कलैया ३३ केभी प्रसारण लाइनमा समेत क्षति पुगेका कारण विद्युत् आपूर्तिमा समस्या आएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

1 (6)

भारतबाट विद्युत् आयात हुने १३२ केभी रक्सौल–परवानीपुर प्रसारण लाइनको ठूलो टावरमासमेत क्षतिग्रस्त भएको छ । सोही कारण विद्युत् आपूर्तिमा समस्या आएको छ । कलैया वितरण केन्द्र अन्तर्गतको विद्युत् प्रणालीमा मात्र एक हजार ५ सय खम्बा ढलेका छन् । क्षतिग्रस्त भएका प्राधिकरणको संरचना तत्काल मर्मत गरी विद्युत् आपूर्ति नियमित गराउनका लागि प्राधिकरणको हेटाँैडास्थित क्षेत्रीय कार्यालयको टोली तथा बारा र पर्साको टोली आँधी हुरी प्रभावित क्षेत्रमा पुगेका छन् । हेटाँैडा क्षेत्रीय कार्यालयका प्रमुख नवराज सुवेदीका अनुसार आज साँझसम्म केही स्थानमा र मङ्गलबार अबेरसम्म सकेसम्म सबै स्थानमा विद्युत् आपूर्ति गर्ने तयारीमा प्राधिकरण जुटेको सुवेदीले जानकारी दिए । हावाहुरीले प्राधिकरणका तार तथा ट्रान्सफर्मरसमेत लडेर क्षति पुगेको प्राधिकरणको हेटौँडा क्षेत्रीय कार्यालयले जनाएको छ ।

प्राधिकरणले कलैयास्थित सबस्टेशन आइतबार नै चन्द्रनिगाहपुर सवस्टेशनबाट चार्ज गरी बजार क्षेत्रमा विद्युत् आपूर्तिको व्यवस्था मिलाएको छ । दुवै जिल्लामा गरी दुई हजार बढी खम्बा लडेको प्रमुख सुवेदीले जानकारी दिए ।

संघीय सरकारको ४६८ वटा त्रिपाल सहयोग
संघीय सरकारले ४६८ वटा त्रिपाल हावा हुरी प्रभावित जिल्लामा पठाएको छ । गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाकाअनुसार सशस्त्र प्रहरीको ट्रकमार्फत ४६८ वटा त्रिपाल बारा र पर्सातर्फ पठाएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको ५० लाख सहयोग
नेपाल उद्योग वाणिज्य महासंघले बारा र पर्साका हावाहुरी पीडितका लागि ५० लाख सहयोग गर्ने घोषणा गरेको छ ।

महासंघको सोमबार बसेको आकस्मिक बैठकले ५० लाखको राहत कोष खडा गरेर हावाहुरीले प्रभावित बारा र पर्साका पीडितहरुलाई राहत वितरण गर्ने निर्णय गरेको हो । ५० लाख सहयोग गर्ने निर्णय भएको महासंघ अध्यक्ष भवानी राणाले जानकारी दिइन । बैठकले प्रभावित क्षेत्रमा मानवीय सहायतासँगै खाद्यान्न, त्रिपाल, टेन्ट लगायतका अत्यावश्यक राहत सामग्री भने तत्काल नै वितरण गर्न शुरु गर्ने निर्णय गरेको उनले जानकारी दिइन ।

नेकपाका सांसदको एक दिनको तलव सहयोग
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संघीय सांसदहरुले बारा पर्साका हावाहारी प्रभावितहरुका लागि एक दिनको तलब सहयोग गर्ने भएका छन् । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका सांसदहरुको एक दिनको तलब राहत कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन उपनेता सुवास नेम्वाङलाई निर्देशन दिएका हुन । नेकपा सांसद योगेश भट्टराईले दलका उपनेता सुवास नेम्बाङलाई भेटेर पार्टीका सांसदहरुले सहयोग गर्ने प्रस्ताव राखेका थिए ।

1 (6) copy 1 (5) copy 1 (8) copy 1 (4) copy