धरान । हेमन्त रानाले गाएको गीत ‘साईंली’ केही वर्षअघि स्रोताहरुको मनमा बस्न सफल भयो ।बाध्यताले परदेश गएको युवाले घर परिवार र श्रीमति सम्झिएको कथामा बनेको गीतले मात्र होईन त्यसको भिडियोले पनि दर्शकको मन छोयो । यहि भिडियोमा अभिनय गरेपछि मेनुका प्रधान र गौरव पहारी अझै चर्चामा आए ।

‘साईली’ गीतको भिडियोमा साईंली बनेकी मेनुकाको त परिचय नै त्यहि बन्यो । उनलाई अहिले पनि धेरै दर्शकले साईंली भनेरै चिन्छन् । यहि लोकप्रिय गीतकै नाम राखेर निर्माण गरिएको र त्यहि भिडियोका कलाकार मेनुका, गौरवसँगै दयाहाङ राई र केनिपा सिंहलाई अभिनय गराईको फिल्म ‘साईंली’ शुक्रबारबाट हलहरुमा प्रदर्शन भईरहेको छ ।

लेखन र निर्देशन रामबाबु गुरूङको रहेको फिल्मलाई दर्शकले पनि साथ दिएका छन् । रिलिज लगत्तै अन्य निर्देशक र फिल्मकर्मीहरुले पनि साईंलीको प्रशंसा गरेका छन् । यसअघि थुप्रै सफल फिल्म दिईसकेका रामबाबु गुरुङलाई साईंलीले अझै माथि उकास्ने चलचित्रकर्मीहरुको प्रतिक्रिया छ ।

गौरव पहारी र हेमन्त रानाको कम्पनी जिएच इन्टरटेन्मेन्टले प्रस्तुत गरेको साईंलीमा गीतको भिडियोको भन्दा अगाडिको कथा प्रस्तुत गरिएको छ । विशाल गुरुङ र मोहन राना मगरले निर्माण गरेको फिल्ममा मणिराम पोखरेल कार्यकारी निर्माताका रुपमा छन् । फिल्ममा माओत्से गुरुङले पनि अभिनय गरेका छन् । शुक्रबारै हलहरुमा अर्को फिल्म ‘शुभ लभ’पनि प्रदर्शनमा छ ।