धरान । एनालग प्रणालीको टेलिभिजन बन्द गर्ने सरकारी निर्णय अवज्ञा गरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले धरानको कृति दर्शन मिडिया प्रालिद्वारा सञ्चालित धरान केबलको एनालग टेलिभिजन बन्द गराएको छ ।

मन्त्रालयका उपसचिव तुलसी घिमिरेको नेतृत्वमा आएको टोलीले मङ्गलबार टेलिभिजन बन्द गराउँदै केही सामग्रीसमेत जफत गरेको छ । तर, प्रालिले डिजिटलमा रूपान्तरण भइरहेकाले केही समयका लागि एनालग प्रणाली सञ्चालन गर्न पाउँ भन्दै उच्च अदालत पाटन ललितपुरमा रिट हालेको छ । उक्त मुद्दा हाल विचाराधिन अवस्थामा रहेको छ । त्यसका लागि प्रतिवादी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पाटन अदालतका न्यायाधीश कृष्णबहादुर थापाले फागुन १९ गते बाटोको म्याद बाहेक १५ दिनभित्र कारण खुलाउको आदेश जारी गरेका थिए ।

सरकारले उपमहानगर र नगरपालिकाको हकमा २०७४ कात्तिक १५ गतेसम्म एनालग टेलिभिजन बन्द गर्न सूचना जाहेर गरेको थियो । सरकारले एनालगलाई डिजिटल प्रविधिमा रूपान्तरण हुनका लागि देशभरका केवल नेटवर्कहरूलाई सूचित गरेको थियो । सोही प्रक्रियाअनुरूप नै धरान केबल डिजिटलमा गइरहेको प्रालिका सञ्चालक सौखिन पलिखेले जानकारी दिए । प्रालिले रूपान्तरणको प्रक्रियामा रहेकाले केही समयसीमा बढाइदिन माग गर्दै अदालतमा रिट हालेको थियो । उक्त रिट उपर उच्च अदालतमा अहिले मुद्दा विचाराधिन अवस्थामा छ । मन्त्रालयका उपसचिव नेपालले अदालतको काम अदालतले गर्ने र सरकारको काम सरकारले गर्ने दाबी गरे । उनले अदालतबाट आदेश भएमा त्यसविरुद्ध आफूहरू नजाने बताए ।

‘अदालतको काम अदालतले गर्छ, सरकारको काम सरकारले गर्छ’ उनले भने, ‘सरकारको निर्णयविरुद्ध केबल सञ्चालन भइरहेको जानकारी आएकाले अनुगमन गरी बन्द गरेका हौं ।’ अदालतले प्रतिवादी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई बाटोको म्यादबाहेक १५ दिनभित्र अन्तरिम आदेश जारी हुनु नर्पने भए किनको जवाफसहित पठाउनु भन्दै न्यायाधीश कृष्णबहादुर थापाले फागुन १९ गते आदेश जारी गरेको प्रालिका सञ्चालक पलिखेले बताए । उक्त पत्राचारको समय अवधिनै पूरा नभएको अवस्थामा सामान जफत हुने गरी बन्द गरिनु अदालतको अवहेलना भएको प्रालिका सञ्चालक पलिखेको दाबी छ ।

‘मुद्दा अदालतमा विचाराधिन छ । अदालतले प्रतिवादीलाई कारणसहित पेश हुन पत्राचार गरेको छ । त्यो म्याद अहिले पनि सकिएको छैन,’ उनले भने । उनले यस विषयमा अधिवक्तासँग बुझेर थप जानकारी दिने बताए ।

सरकारले राष्ट्रिय प्रसारण नियमावली २०५२ को नियम ४ (क) मा एनालग प्रणालीमा सञ्चालित केबल टेलिभिजनहरूलाई अनिवार्य रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने व्यवस्था भए बमोजिम एनालट प्रणाली बन्द गराउने भनी पटक–पटक सूचना प्रकाशित गरे पनि मङ्गलबारको स्थलगत अनुगमनमा एनालग प्रणालीको टेलिभिजन सञ्चालन भएकाले बन्द गरिएको मुचुल्का बनाइएको अनुगमन समितिले जनाएको छ । केही सामग्री जफत गरेकोसमेत जनाएको छ ।