इनरुवा/ होली पर्वलाई मध्यनजर गर्दै सुनसरी प्रहरीले जिल्लाभर विशेष सुरक्षा योजना लागू गर्न लागेको छ । होली पर्वलाई लक्षित गरी प्रहरीले मापसेमा कडाइसँगै जबरजस्ती रङ दल्ने उपर विशेष कडाई गर्ने रणनीति बनाएको छ । 
 
होलीलाई शान्तिपूर्ण र मर्यादित तवरले मनाउन सर्वसाधारण जिल्लावासीमा सुनसरी प्रहरीले अनुरोध समेत गरेको छ । होलीका नाममा हुने विकृति रोक्न विशेष अप्रेसन चलाइने बताएको प्रहरीले यथेष्ट मात्रामा सुरक्षाकर्मी परिचालन गरिने जनाएको छ ।
 
गाँजा, भाङ तथा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने, मापसे गरी सवारी चलाउने, हेल्मेटलगायत आवश्यक कागजात बेगर सवारी चलाउनेदेखि शङ्कास्पद गतिविधि गर्ने र जबरजस्ती अबिर तथा रङ दल्नेलाई नियन्त्रणमा लिई नियमबमोजिम कारबाही चलाउने सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले बताए ।
 
प्रहरी प्रमुख अधिकारीकाअनुसार अघिल्लो दिनबाट नै होलीलाई लक्षित गरी सुरक्षाकर्मी परिचालन गरिनेछ । ट्राफिकसहित जनपथ प्रहरीको चेकपोइन्टका अलावा बजार तथा चोकहरूमा प्रहरीको उपस्थिति बढाइने सुनसरी प्रहरीले जनाएको छ । सम्भावित भीडभाड र झै–झगडा हुने स्थानहरूलाई निगरानीमा राखिने प्रहरीले जनाएको छ । सुनसरी प्रहरीले गाउँघरमा समेत प्रहरीको उपस्थिति गराउन मोबाइल गस्तीको प्रबन्ध मिलाइएको जनाएको छ ।