पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे नगरका व्यवसायीहरूलाई नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गराउन आह्वान गर्दै ३ दिनको अवधिमा ५ सय पसल व्यवसाय अनुगमन भएका छन् ।
 
नगरपालिकाको राजस्व परामर्श समितिको योजनाअनुरूप पथरीशनिश्चरे–१ को पथरी बजार, ४ र ९ को शनिश्चरे बजार, ५ र ६ मा पर्ने हसन्दह र ७ मा पर्ने कीर्तिपुर बजारक्षेत्रका गरी ५ सय पसल अनुगमन भएको अनुगमन समिति संयोजक यमुना विष्ट बास्तोलाले बताइन् । अनुगमनपछि स्थानीय व्यवसायीले उत्साहका साथ नगरमा दर्ता र नवीकरणका लागि सहभागी भएको जनाइन् ।
 
पछिल्लो अवधिमा हसन्दह र कीर्तिपुरमा भएको १ सय १८ पसलको अनुगमनमा ४४ वटा दर्ता भएका र १८ वटा नवीकरण भएको पाइएको छ । यसअघि वडानम्बर १ मा भएका ३५ पसलमध्ये १५ वटा दर्ता र १० वटामा अनुगमन भएको तथ्य फेला परेको छ । उद्योग वाणिज्य सङ्घका प्रतिनिधिसहितको अनुगमनका क्रममा म्याद गुज्रिएका अखाद्य वस्तुहरूसमेत केही भेटिएकाले त्यस्ता वस्तु बिक्री नगर्न पनि सचेत गराइएको छ ।
 
नगरपालिकामा दर्ता र नवीकरण हुन बाँकी रहेका व्यवसायीलाई ७ दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित भएर दर्ता र नवीकरण गर्न पत्र छोडिएको छ  । व्यवसायको अवस्था र तथ्याङ्कका बारेमा जानकारी लिई उनीहरूलाई करको दायरामा ल्याउनका लागि अभियानको लक्ष्य बनाएर नगरका सबै बजार अनुगमन गर्ने योजना रहेको छ ।