बिर्तामोड/ झापाको अर्जुनधारामा नदीजन्य सामग्री उत्खनन्मा सहमति जुटेको छ । नगरपालिकाले ठेक्का रद्द गर्नलाग्दा उत्खनन्मा अवरोध गर्ने स्थानीयकै पहलमा सहमति जुटेको हो ।
 
सहमतिसँगै नदीजन्य सामग्रीको उत्खनन् प्रक्रियालाई अगाडि बढाउन अवरोध नगर्ने र नगरपालिकाले तयार गरेको मापदण्ड बमोजिम तोकिएको स्थानमा मात्र उत्खनन् गर्ने सहमति समेत भएको छ । नगरपालिका, स्थानीय राजनीतिक दल, मजदुर र ठेकेदारको सहमति भएपछि विगत ६ महिनादेखि उत्खनन्मा देखिएको अवरोध खुलेको हो ।
 
अर्जुनधारा नगरपालिका–१ को हलुवागढ सामुदायिक वनको सभाकक्षमा आइतबार बसेको सर्वपक्षीय छलफलपछि नगरपालिकाले आगामी दिनमा डिपीआर गर्ने र त्यस स्थानमा चेक ड्याम बाँध्ने कार्य प्रारम्भ गर्ने सहमति गरेको नगर प्रमुख हरिकुमार रानाले बताए । नगरपालिकाले गरेको कामलाई गाउँपालिकाले समेत सहयोग गर्ने बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुुजेलले बताए । 
 
असोजमै बिरिङ नदीमा लगाएको अर्जुनधारा नगरपालिकाले नदीको अति संवेदनशील र जोखिम स्थानको पहिचान गरी पोलमवाल (जनताको तटबन्धन स्तरीय) बाँध निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको प्रमुख रानाले जानकारी दिए ।
 
सहमतिमा नदी क्षेत्रमा खानेपानीको मुहान तथा सिंचाइको मुहानहरूको संरक्षण तथा व्यवस्थापन गर्ने उल्लेख गरिएको छ । खोला किनारका आश्रित मजदुरहरूले उत्खनन् गर्नका लागि वास्तविक सूचीकरण हुने गरी पहिचानसहित त्यसका लागि नगरपालिकाले मापदण्ड बनाउने सहमति भएको छ । त्यस्तै, खोलामा आश्रित मजदुरहरूले यथास्थानमा कार्य गर्न अवरोध नगर्ने सर्वपक्षीय छलफलको निर्णय रहेको जानकारी रानाले दिएका छन् ।
 
अर्जुनधाराको बिरिङ, टाङ्टिङसहित अन्य नदीमा २ करोड ६१ लाख रुपैयाँमा ठेक्का लागेको थियो । नदीजन्य सामग्री उठाउन नपाएपछि ठेकेदार समूहले ठेक्का रकम फिर्ता गरिदिन पटक–पटक आग्रह गर्दै आएको थियो । यसअघि भएको छलफलमा नगरपालिकाले ठेक्का रद्द गर्ने बताएको थियो ।
 
छलफलमा नेपाली काङ्ग्रेसका नगरसभापति हेमराज खरेल, अर्जुनधारा–३ का अध्यक्ष जीवनकुमार भण्डारी, नयन अधिकारी, रामबहादुर निरौला, नेकपा वडासचिव विजेन्द्र एक्तेन, सन्त तामाङ, राप्रापाका प्रतिनिधि खेम चापागाई, नेपाली काङ्ग्रेसका उपेन्द्र बस्नेत, स्थानीय मिलन श्रेष्ठ, विष्णु नेपाल, धरणी सुवेदी, ठेकेदारका तर्फबाट विजय सेन्दाङ, पवन खनाल लगायतले उत्खनन्का विषयमा धारणा राखेका थिए ।