भद्रपुर/ झापाको भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वनमा लागेको भीषण आगलागी ५ घण्टामा नियन्त्रणमा आएको छ ।

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको कार्यालयदेखि एक किलोमिटर पश्चिमको वन क्षेत्रमा सोमबार बेलुका ५ बजेदेखि आगलागी भएको स्थानीयले जनाएका छन् । हावा चलेकोले वनको करिब एक सय विगहा क्षेत्रफलमा आगो फैलिएकोले नियन्त्रण बाहिर गएपनि स्थानीय, प्रहरी, नेपाली सेना, वन कर्मचारी, दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जनाए ।

वनमा लागेको आगो राती १० बजे नियन्त्रणमा आएको वडा नम्बर ९ का वाड सदस्य नेत्र(नुतन) पौडेलले जानकारी दिए । ठाउँठाउँमा आगो सल्किएकोले नियन्त्रणमा लिन हम्मे हम्मे परेको उनले जानकारी दिए । भद्रपुर ९ स्थित प्रतिभाचोक नजिकै वन क्षेत्रमा आगलागी भएपनि गाउँतर्फ नआएको समितिका सचिव अनुज खतिवडाले बताए ।

आगो नियन्त्रणका लागि भद्रपुर र विर्तामोडबाट बारुण यन्त्र प्रयोग गरिएको डिएसपी श्रेष्ठको भनाइ छ । आगो साढे ८ बजेबाट शुरु भएको उनले जनाए । आगो के कारणले लागेको हाल नखुलेको उनले जानकारी दिए ।