भद्रपुर/ प्रविधिको विकाससँगै पछिल्लो समय साना बालबालिकाहरू अध्ययनभन्दा पनि बाह्य क्रियाकलापमा बढी सहभागी हुने गरेका छन् । मोबाइल, टेलिभिजनजस्ता वस्तुमा बढी ध्यान दिएका कारण धेरैजसो अभिभावकलाई हैरानी भइरहेको छ ।
 
सन्तानलाई असल बाटोतर्फ लैजान अभिभावक पछि पर्दैनन् तर, नानीहरूको ध्यान भने ग्याजेटतर्फ आकर्षित छ ।  यो समस्या जर्जर बन्दै गएपछि बालबालिकालाई अध्यापनसँगै तीक्ष्ण बनाउन झापा भद्रपुर नगरपालिका ३ ज्ञानेचोकका कालीचरण बस्नेतले ‘ब्रेन र व्यक्तित्व विकास’ को कार्यक्रम शुरु गरेका छन् ।
 
केही महिनायताबाट स्थानीय ६ देखि १४ वर्षभन्दा तलका बालबालिकालाई भेला पारेर बस्नेतले हप्तामा १ दिन ३ देखि ४ घण्टा बे्रन तथा व्यक्तित्व विकास कार्यक्रममार्फत् अध्यापनको शुरुवात गरेका छन् । बस्नेतले हाल २८ जना बालबालिकालाई अध्यापन गराउँदै आएका छन् । 
 
उनले ‘दिव्य शिक्षा केन्द्र प्राइभेट लिमिटेड’ दर्ता गरेका छन् । बच्चामा प्राकृतिक रूपबाटै विलक्षण क्षमता आउनका लागि ब्रेन एक्सरसाइज, जिम, विभिन्न नृत्य, आई एक्सरसाइज, योगा तथा सङ्गीतबाट अध्यापन गराइरहेको बताउँछन् । आधारभूत र एड्भान्स गरी दुई तहको पाठ्यक्रम राखिएको उनले बताए  । आधारभूत १० र एड्भान्स १४ हप्ताको कोर्ष रहेको उनी बताउँछन् । 
 
आधारभूत अध्ययन गरेका नानीहरूले मात्र एडभान्स कोर्षमा सहभागी हुन पाउने उनले बताए । ‘शुरूमा डर लागेको थियो, छिमेकीसँग केही नानी मागेर शुरु गरेँ’ उनले भने, ‘तीन हप्तामा नै अध्ययनको अवस्था र अविभावकमार्फत् नानीहरूमा सकारात्मक परिवर्तन देखिएपछि सफल भइनेरहेछ भनेर सार्वजनिक गरेँ ।’ यो शिक्षा जापानमा लागू गरिएको उनले सुनाए तर, बस्नेतले भने भारतमा गएर शिक्षा हासिल गरेको बताए । मानिसमा रहेका पाँच इन्द्रीयमध्ये आँखा बन्द गराइसकेपछि बाँकी रहेका इन्द्रीय झन् बढी सक्रिय हुने भएकाले आँखामा पट्टी बाँधे पनि सजिलै थाहा पाउने उनको भनाइ छ । 
 
अब झापाका विद्यालयमा शुरुवात गर्दै झापाभर यो पाटोबाट अध्यापन गराउन शुरु गरिने उनले बताए । यसका लागि शिक्षक उत्पादन गर्दै गरेको उनको भनाइ छ । अध्ययन गर्दै आएका केही नानीले आँखामा पट्टी बाँधेर सामान चिन्ने, नोटमा रहेको नम्बर भन्ने, मोबाइल डायल गर्नेलगायतका चमत्कारी काम गरेको बस्नेतले बताए ।
 
दोस्रो पाठ्यक्रम पूरा गरेपश्चात् ४० प्रतिशत जुनसुकै पुस्तक पढ्न सक्नेसम्मको क्षमता विकास हुने उनले दाबी गरे । साना नानीहरूमा हर्मन पातलो भएका कारण नदेखे पनि थाहा पाउने उनले बताए । पाठ्यक्रम पूरा गरेपश्चात् कठिन लाग्ने विषयहरू सहज रूपले ज्ञान हुँदै कलाकारिता, गायन, नृत्य, खेलकुदजस्ता अनेकन क्षेत्रमा सफल हुने उनले दाबी गरे ।
 
यो पठन–पाठन शुरु गरेपछि बालबालिकामा परिवर्तन आएको अभिभावक लोकनाथ रिजालले बताए । टिभी हेरेर रातभर बस्ने नानी अहिले हेर्न मन नपराउने भएकाले यो शिक्षा ज्यादै प्रभावकारी देखिएको उनले अनुभव सुनाए ।