सजिवन अत्यन्त लाभदायक सब्जी हो । भनिन्छ, सजिवनले शिरदेखि पाउसम्म औषधीय गुण बोकेको हुन्छ । नेपालमा सहजै पाइने भए पनि सजिवनको औषधीय गुणका बारेमा भने कमैलाई मात्र थाहा छ । छिप्पिएको सजिवनको कोसामा छोक्रा हुने हुँदा धेरैले मन पराउँदैनन् तर कलिलोमा भने निकै मुलायम हुन्छ ।
 
भारतबाट शुरु भएको सजिवनको खेती विस्तारै एसिया हुँदै रसिया पुग्यो र संसारभर छायो । यो सब्जीको औषधीय गुण यति धेरै छन् कि, सायदै अन्य कुनै सब्जीमा पाइएला । सजिवन दक्षिण भारतमा व्यापक प्रयोग गरिन्छ भने नेपालमा पनि यसको खेती गर्न थालिएको छ । सजिवनको पात पनि औषधीय गुण बोकेको वनस्पतिमा पर्छ, जसलाई शितलचिनी भनेर चिनिन्छ ।
 
वनस्पति वैज्ञानिकहरूका अनुसार सजिवनका सम्पूर्ण अङ्गमा औषधीय गुण हुन्छ । भारतमा यसलाई सहजन भनेर चिनिन्छ भने अङ्ग्रेजीमा ड्रमस्टिक भनिन्छ । हुन पनि यो सब्जी ड्रम बजाउने स्टिक जस्तै हुन्छ । सजिवनको पात अर्थात् शितलचिनीलाई अङ्ग्रेजीमा मरिङ्गा भनेर चिनिन्छ ।
 
नेपालमा औषधीय गुण नबुझेर होला, सजिवनको प्रयोग ज्यादै न्यून देखिन्छ । सजिवनको गेडाबाट तेल निकालिन्छ, जुन अमूल्य औषधि मानिन्छ । आयुर्वेदमा सजिवनको प्रयोगले ३ सयभन्दा बढी रोगको निदान हुन्छ भनिएको छ । सजिवनको फूल, फल, डाँठ, कोसा र पात यति पोषक मानिन्छ कि विश्व स्वास्थ्य सङ्गठनको मार्गदर्शनले दक्षिण अफ्रिकाको कयौं देशमा कुपोषण पीडितहरूलाई आहारको रूपमा सौजुन प्रयोग गर्न सल्लाह दिएको छ ।
 
सजिवनलाई कसरी हुर्काउने ?
सजिवनलाई हुर्काउन सजिलो छ, किनभने यो हाँगा काटेर पनि रोप्न सकिन्छ र दानाबाट पनि बेर्ना निकाल्न सकिन्छ । तर ख्याल गर्नुपर्ने कुरा के छ भने यसको बिरुवा हुर्काउँदा प्रशस्त मात्रामा पानी हाल्नुपर्ने हुन्छ । बिरुवा ८ देखि ९ फिट नहुँदासम्म नियमित पानीले भिजाएर राख्नु जरुरी छ । एउटा परिपक्व रुख हुँदा सौजुन ३० देखि ४० फिट अग्लो हुन्छ । यसको पात भने मसिनो खालको हुन्छ । केही छिप्पिँदै गएपछि सजिवन फुल्छ र फूल पनि धेरै औषधीय गुण बोकेको हुनाले सङ्कलन गरेर सुकाइन्छ र बेचिन्छ ।
 
सजिवनले रोपेको ४ देखि ६ महिनामा फल दिन थाल्छ र निरन्तर १० वर्षसम्म दिइरहन्छ । हरेक रुखले २ सय ५० देखि ३ सय ५० सम्म सौजुन स्टिक दिन्छ र यो रुखले निरन्तर दुई बाली दिनसक्छ । २५ देखि ३० सेन्टिग्रेट तामक्रम सौजुनका लागि उपयुक्त मानिन्छ । सजिवन एक त्यस्तो खेती हो, जुन थोरै लगानीमा धेरै आम्दानी दिने बहुआयामिक वनस्पति हो । सजिवन जीवन जोगाउने रुख भनेर पनि चिनिन्छ । यो वनस्पति तराई तथा मध्यपहाडमा सजिलै खेती गर्न सकिन्छ । सिजनमा ८० रुपैयाँ किलो र अफसिजनमा ३ सयदेखि ४ सय रुपैयाँसम्म काठमाडौंमा सजिवन बिक्री गरिन्छ ।  
 
के–के बनाउन सकिन्छ सजिवनबाट ?
सौजुनबाट भारतमा १ सय २५ भन्दा धेरैथरीका परिकार तयार गरिन्छ । दक्षिण भारतमा यो सब्जी अति नै महŒवका साथ दैनिक भोजनमा समावेश गरिएको पाइन्छ । यसका परिकार फुटपाथदेखि पाँचतारे होटलसम्ममा भिन्न–भिन्न रूपमा पस्किने गरिन्छ । नेपालमा भने कलिलो सजिवनको कोसालाई आलुमा मिसाएर तरकारी बनाउने चलन छ । भारतमा सजिवनको ग्रेभी, सुप, सलाद, सम्बार, सजिवन मसला, अचार र दालमा मिसाएर खाने चलन छ ।
 
सजिवनको मुन्टा तथा पातको करी पनि निकै प्रख्यात छ । पातलाई सुकाएर हर्बल टीको रूपमा पनि प्रयोग गरिन्छ । त्यस्तै शितलचिनीलाई विभिन्न आयुर्वेदिक औषधि बनाउन व्यापक प्रयोग गरेको पाइन्छ । वास्तवमा सजिवनलाई सब्जीको राजा नै मानिन्छ । सौजुनको पातको जुस बनाएर पनि खान सकिन्छ, जुन स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । 
 
यस्ता छन् २० गुण
–सजिवन या सजिवनको पात शितलचिनी सेवन गर्नाले शरीरमा रहेको विकारयुक्त रगत शुद्धीकरण हुन्छ ।
–हड्डी मजबुत बनाउन भूमिका खेल्छ । 
–कोलेस्टेरोल लेबललाई नियन्त्रणमा राख्न मद्दत गर्छ । 
–उच्च रक्तचाप नियन्त्रण गर्न विशेष भूमिका हुन्छ । 
–रुघा–खोकी जस्ता सङ्क्रमण हुनबाट जोगाउँछ । 
–गर्भावस्थामा आउने विभिन्न समस्यालाई नियन्त्रण गर्न मद्दत गर्छ । 
–छालासम्बन्धी सङ्क्रमणबाट जोगाउँछ । 
–सजिवन पोषणयुक्त सब्जी भएको हुनाले कुपोषण हुनबाट जोगाउँछ । 
–सजिवनको पातलाई शितलचिनी अर्थात् मोरिङ्गा भनेर चिनिन्छ, जुन आयुर्वेदिक क्षेत्रमा ३ सयभन्दा बढी रोग निदान गर्छ भनिएको छ । 
–सजिवनले खाना पचाउन पनि ठूलो भूमिका खेलेको हुन्छ । 
–सजिवनको कोसा, पात, डाँठ, फूल, मुन्टा, जरा प्रयोगमा आउने हुँदा व्यवसायिक हिसाबले पनि उच्चकोटीको वनस्पति मानिन्छ, जसले मनग्य आम्दानी दिन्छ । 
–सजिवनको जारा कुटेर रस नियमित खानाले किड्नीमा रहेको पत्थरी हटाउन मद्दत गर्छ ।  
–सजिवनको पात नियमित सेवन गर्नाले मस्तिष्कसम्बन्धी समस्या समाधान गर्छ । 
–कलेजो खराब हुनबाट जोगाउँछ । 
–चोट–पटकलाई छिटोभन्दा छिटो निको बनाउन मद्दत गर्छ । 
–छालाका लागि सजिवनको पत्ता उपयोगी मानिन्छ ।
–सजिवनको तेल कपालका लागि उत्तम मानिन्छ ।
–मुटुसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ । 
–शरीरमा आउने निराशपन हटाएर स्फूर्ति थप्ने काम गर्छ । 
–पेटसम्बन्धी विभिन्न रोगहरू निदान गर्नुका साथै पेट सफा गर्न मद्दत पु¥याउँछ ।
(बुढाथोकी सोल्टी क्राउन प्लाजाका सुसेफ हुन्)
साभारः स्वास्थ्यखबरबाट