रङ्गेली/ धेरै समुदायलले साङ्गीतिक वाद्यवादनको प्रयोग सांस्कृतिक पर्वमा बढी प्रयोग गर्ने गर्छन् । नेपालका हिन्दू समुदायले मादल र ढोलकको प्रयोग फागू पूर्णिमा र तिहारमा बढी प्रयोग गर्ने गर्छन् । भारतका फिरन्ता मादल र ढोलक व्यापारी फागू पूर्णिमाको मौका छोपेर विराटनगरमा व्यापार गर्न आइपुगेका छन् । 
 
भारत र नेपालका विभिन्न स्थानमा साङ्गीतिक वाद्ययन्त्र मादल÷ढोलकको व्यापार गर्ने उक्त समूहले यसपटक विराटनगरलाई  आफ्नो गन्तव्य बनाएका हुन् । भारतको लखनउस्थित महमुदावादबाट मादल÷ढोलकको व्यापार गर्न विराटनगर आइपुगेको उक्त समूहले १ हजार ३ सय मादल र ढोलक बिक्री गर्ने योजना बनाएका छन् । पहिलो पटक विराटनगर आएका महमुदावादका मौजल अलीले मादल÷ढोलकको व्यापार राम्रो भएको बताए । ‘यसअघि बुटबल, नारायणघाट र काठमाडौंमा मादल र ढोलक बेचेका थियाैँ,’ अलीले भने, ‘विराटनगरमा होली धुमधामसँग मनाउने गरेको सुनेर मादल र ढोलक बेचन आएका हौँ ।’
 
अलीले १३ जना महमुदावादबाट १ हजार ३ सय थान मादल र ढोलक ट्रकमा विराटनगर ल्याएर व्यापार शुरु गरेको बताए । ढोलक र मादल आफैँ बनाउने उनीहरू गत बुधबार विराटनगर आइपुगेका थिए । आएको भोलिपल्ट बिहीबारबाटै उनीहरूले मादल बनाउने र बजारमा बिक्री गर्ने काम थालेका थिए । ‘हाम्रो जिजुबुबाको पालादेखि नै हामी मादल बनाउने पेशामा अङ्गाल्दै आएका छौँ ।’, अलीले भने ‘हामीले आवश्यक सामग्री ल्याएर यही मादल र ढोलक तयार गरेर बिक्री शुरु गरेका छौँ ।’
 
उनीहरूले आँप, कटहर र चिरबलको काठबाट मादल÷ढोलक बनाउने गरेका छन् । रङ लगाउने, चम्किलो पार्ने, बाख्राको छालामा गद र खरी राखेर डोरी लगाएर मादल र ढोलक तयार गर्दै बिक्री गर्ने गरेको अलीले सुनाए । उनले एउटा मादल र ढोलकको आकार हेरेर न्यूनत्तम ७ सयदेखि ११ सयमा बिक्री गर्छन् । १३ जनामध्ये कोही मादल र ढोलक बनाउने कोही बजारमा घुमेर बिक्री गरिरहेका छन् । 
 
१३ जनाले १–१ सयका दरले मादल बिक्री गर्न ल्याएको सरारत अलीले बताए । पहिलो पटक मादल व्यापारका लागि विराटनगर आएका सरारतलाई यहाँका स्थानीय भद्र र शान्त लागेको बताए । उनले ल्याएको मादल र ढोलक ८–१० दिनमा बेचिसक्ने बताए । यहाँ होलीको पर्वका दिन युवा, वृद्धहरूले समूह÷समूहमा ढोलक, मादल, हार्माेनियम, झ्याली, डम्फू बजाएर फागू पूर्णेमा रमाउने चलन रहेको छ ।
 
स्थानीय राजकुमार राईले भारतीय व्यापारीहरूले बिक्रीका ल्याएको ढोलक आकर्षक लागेको बताए । हेर्दा मादलजस्तो देखिए पनि त्यसमा प्रयोग भएको सामग्री मादलको भन्दा फरक भएको बताए । मादलको जस्तो धुन पनि नभएको राईले बताए । मादलमा छालाको डोरी प्रयोग हुने भए पनि भारतीयहरूले धागोको डोरी प्रयोग गरेका छन् । मादलमा प्रयोग हुने छालाको डोरी प्रयोग गर्दा मूल्य धेरै पर्न जाने भएकाले धागोको डोरी लगाएको व्यापारी मौजम अलीले बताए ।