एक हप्ता पछाडि सरेर जेठ ३ मा पुगेको मल्टिस्टारर फिल्म ‘जात्रै जात्रा’ को पहिलो गीत युट्युब रिलिज भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारलाई साक्षी गरेर निर्माण टिमले ‘माया पिरिम’ बोलको गीत सार्वजनिक गर्‍यो । गीतको भिडियोमा कलाकारहरुको लस्कर छ ।

कृष्ण भारद्वाजको संगीत रहेको गीतका रचनाकार लेखु सहयात्री हुन् । गीतको भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् । फिल्मका निर्माता मध्येका एक रबिन्द्र सिंह बनियाँले गीत बेच्नकै लागि निश्चललाई लिइएको धक नमानि बताए । निश्चल भने गीत राम्रो लागेर काम गरेको बताउँछन् । करिश्मा र साराले पनि उनकै कुरा सापटी लिए ।

निर्देशक तथा अभिनेता निश्चल बस्नेतले अभिनेत्री द्वय करिश्मा मानन्धर र सारा शिर्पालीसँग ठुम्का लगाएका छन् । फिल्ममा उनीहरु यो गीतमा मात्र देखिनेछन् । बिहेको परिवेशमा गीत खिचिएको छ । गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, विपिन कार्की, बर्षा राउत, रबिन्द्र झा र रबिन्द्र सिंह बनियाँ पनि फिचर्ड छन् । निशान भट्टराई र मनिषा पोखरेलको गीतमा स्वर छ ।

‘जात्रै जात्रा’ लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।  फिल्मको निर्मातामा सिंगे लामा र योगेश्वर पौडेल रहेका छन् । यसको कथा निर्देशक भट्टराईकै हो ।