इटहरी/ निशा राई ३० वर्ष । धरानका चिसा सडकमा उनले वर्षौं बिताइन् । कसैले झुत्रा कपडा दिए लगाउँथिन् । भोक लाग्दा उनलाई जूठो खानाको परवाह हुँदैनथ्यो । यस्तै अवस्थामा उनलाई महिला सञ्जालका पदाधिकारीले सडकबाटै उठाए । तर, उनलाई सम्हाल्ने कोही नभएपछि माया घर इटहरीलाई जिम्मा दिए । मानसिक रोगी निशाका आफन्त अहिलेसम्म फेला परेका छैनन् । माया घरले अहिले पनि उपचार गराइरहेको छ । उनी अहिले आफ्नो सरसफाइ र आएका मान्छेलाई स्वागत सम्मान गर्न सक्ने भएकी छन् ।
 
मोरङकी २८ वर्षीया रीता घिमिरे अहिले सिलाइ कटाइ सिक्दैछिन् । उनलाई पनि माया घरका पदाधिकारीले एक वर्षअघि इटहरीको सडकबाटै उठाएका हुन् । पुनस्र्थापना केन्द्रदेखि डाक्टरी उपचारबाट उनको जीवन फेरिएको छ । काखेनानी च्यापेर बटुवासँँग पैसा मागेर उनले पेट भर्थिन् । कति पटक प्रहरीले पक्राउ गरेर आफन्तको जिम्मा लगाउँथ्यो । तर रीतालाई आफन्तको माया नै थिएन । उनी परिवारको बोझ बनेकी थिइन् । मानसिक रोगी रीताका अहिले उज्याला दिन शुरु भएका छन् । ‘माया घरले जीवन नै परिवर्तन गरायो’ उनले भनिन्, ‘त्यसबेला जे भयो त्यो बिर्सन चाहन्छु, माया घरले नयाँ जीवन नै दियो ।’
 
मानसिक रोगी जसबहादुर राई धरानमा एक दशक अघिदेखि सडकमै बस्दै आएका थिए । उनलाई पनि माया घरले उद्धार गरी पुनस्र्थापनाको लागि हेटौंडा पु¥यायो । पछि उनको उहीँ निधन भयो । गत फागुन १४ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्र नै पठाएर नाम ठेगाना थाहा नभएकी एक महिलालाई माया घरको जिम्मा लगायो । उनी पनि माया घरमै बस्दै आएकी छन् । उनलाई नियमित औषधि खुवाउनु पर्छ ।
 
एकोहोरो बर्बराउने ती महिलाको अहिले केही हदसम्म स्वास्थ्यमा सुधार आएको माया घर नेपालकी सचिव शुभद्रा प्याकुरेलले बताइन् । मानसिक रोगी तथा हिंसा पीडितहरू अहिले माया घरमा पठाउने सङ्घ–संस्था थुप्रै भेटिन्छन् । निःस्वार्थ रूपमा सेवा गर्दै आएको छ । १० जनालाई अहिले पनि माया घरले उपचार र गाँस, बासको व्यवस्था गर्दै आएको छ । छाउपडीप्रथालाई तोड्न नसकेपछि हुम्लाकी तारा भट्टराई पनि इटहरीको माया घरमा आएर शरण परेकी छन् । यस्ता हिंसा पीडितहरूको लागि सुरक्षा आवास नहुँदा मासिक तीन हजार रुपैयाँमा कोठा भाडामा लिएर उनीहरूलाई राखिएको माया घर नेपालले जनाएको छ ।
 
मानसिक रोगी तथा हिंसा पीडितहरूको संरक्षण गर्ने उद्देश्यले इटहरीका केही महिलाहरूले नेतृत्व गरेको माया घर नेपाललाई इटहरीवासीको सहयोग नभएको होइन । गतवर्ष पुसमा पुराण लगाउँदा झण्डै सात कठ्ठा जग्गा इटहरी–२ का स्थानीयवासी  र अन्य भक्तजनले जुटाइदिए । संस्थाले थप गरी अहिले दश कठ्ठा तीन धुर जग्गा जोडेको छ । तर, आर्थिक अभाव हुँदा आवास बनाउन ढिला भएको संस्थाले जनाएको छ । जग्गाको मूल्य अहिले डेढ करोड रुपैयाँभन्दा बढी पर्छ । समितिको सम्पर्कमा भएका आफन्तको जन्म दिनमा पनि माया घरकै सदस्यको पहलमा खानेकुराको जोहो गराउँदै आएको उपाध्यक्ष अञ्जु आचार्यले बताइन् ।
 
तर, आर्थिक अभावका कारण अहिले पूर्वाधारलाई अघि बढाउन नसकिएको माया घर नेपालकी सचिव शुभद्रा प्याकुरेल सुवेदीले बताइन्  । ‘पुराणबाट उठेको पैसाले केही पूर्वाधार बनायौं’ उनले भनिन् ‘अझै पनि मागीजोगी गरेर टिन लगाएको पाँच कोठे भवन बनाउँदै छौं ।’ भागवत् प्रचारिका राधिकादासीको नेतृत्वमा रहेको महिलाहरूको समितिमा इटहरीका व्यवसायी महिलाहरू छन् । समितिमा रहेकामध्ये केही महिलाले गाँस काटेर भए पनि मानसिक रोगी र हिंसा पीडितको लागि अहिले निःस्वार्थ सेवा गरिरहेका छन् ।
 
दाताबाट प्राप्त भएको जग्गामा अहिले भवन बनाउन नसकेपछि संस्थाले कोठा भाडामा लिएर उनीहरूको सेवा गर्दै आएको छ । उनीहरूलाई लाउने कपडा बजारमा गएर मागेर जुटाउने गरेका छन् । माया घरलाई व्यवस्थित बनाउन उनीहरूले स्थानीय सरकार र प्रदेश सरकारलाई आग्रह गरिरहेका छन् । ‘आस्वासन पाएका छौं’ माया घर नेपालकी अध्यक्ष राधिका दासीले भनिन्, ‘तर, अहिलेसम्म हाम्रै बुताले भवन बनाउन थालेका छौं ।’ माया घरमा प्रदेश सरकारका मन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधिहरूले समेत अवलोकन गरिसकेका छन् ।
 
जग्गाको कम्पाउण्ड वालको लागि बेस बसाउने काम भए पनि पूरा गर्न सकिएको छैन । पीडितहरूको उपचार र खान बस्नका लागि रकम जुटाउने उद्देश्यले माया घरले स्थानीयस्तरमा दैनिक एक रुपैयाँ अभियान पनि चलाएको छ । तर, कतिपयलाई दैनिक औषधि उपचार र डाक्टरलाई जँचाउनु पर्नेदेखि खाने, बस्ने व्यवस्थाको लागि समितिकै पदाधिकारी र सहयोगी दाताकै भरमा चलेको कोषाध्यक्ष शान्ता न्यौपानेले बताइन् । व्यवस्थित माया घरको लागि आफूले पनि पहल थालेको स्थानीय एवम् राजनीतिक अगुवा ओम कोइरालाले बताए ।
 
माया घरको निर्माणको लागि इटहरी–२ का बद्रीप्रसाद सुवेदीले एक कठ्ठा एक धुर, इटहरी–२ का ढुण्डीराज सुवेदीको परिवारले एक कठ्ठा, हरिहर सुवेदीले दश धुर, राधिका थापाले डेढ कठ्ठा, महिला सीप विकास केन्द्र र क्लिन नेपालले एक कठ्ठा जग्गा प्रदान गरेका थिए । स्थानीयवासी र समितिका सम्पर्कमा रहेका आफन्तले थप जग्गा दान गरी माया घरको लागि जग्गा उपलब्ध गराएका थिए । स्थानीयवासीले घरलौरी पैसा उठाएर माया घरलाई पुराणको बेला आर्थिक सहयोग गरेका थिए ।
 
‘२०७४ पुसमा पुराण लगाउँदा झण्डै सात कठ्ठा जग्गा इटहरी–२ का स्थानीयबासी र अन्य भक्तजनले जुटाइदिए । संस्थाले थप गरी अहिले दश कठ्ठा तीन धुर जग्गा जोडेको छ । आर्थिक समस्या हुँदा आवास बनाउन ढिला भएकोे संस्थाले जनाएको छ ।’