इटहरी । प्रदेश नम्वर १ को राजधानी इटहरी हुनु पर्नेमा अत्यधिक मत प्राप्त भएको छ । इटहरी राजधानी सरोकार समाजले शनिबार विहान इटहरी चौकमा गरेको नमुना मत सर्वेक्षणमा कुल ८ सय मत मध्ये ७ सय ४९ मत प्राप्त भएको इटहरी राजधानी सरोकार मञ्चका सचिव शैलेश विष्टले बताए । भारतीय सिमा नजिक प्रदेशको राजधानी राख्न नहुनेमा सत् प्रतिशत मत प्राप्त भएको थियो । जसमा ५ मत बदर भएको र बोर्डर एरियामा राख्न नहुनेमा बहुमत प्राप्त भएको विष्टले जनाए ।

राजधानीको लागि प्रस्ताव गरिएका ठाउँहरुमा धनकुटाको लागि २० मत, गोठगाउँ मोरङको लागि ३१ मत प्राप्त भएको थियो । विराटनगर, धरान र चतराको प्रस्तावित नाममा कुनै पनि मत प्राप्त नभएको शैलेश विष्टले बताए । इटहरीको रेयुकाई चौतारी र गोरखा डिपार्टमेन्ट स्टोर अगाडी गरिएको मत सर्वेक्षण गरिएकाे थियाे ।  सरोकार समाजले बिभिन्न यात्री तथा बटुवाहरुबाट राजधानीको लागी कुन ठाउ उपयुक्त भन्ने प्रश्नको सर्वेक्षण गरेको हो । बिराटनगर बाहेक हरेकलाई इटहरी राजधानी पायक पर्ने सरोकार समाजले बताएको छ । राजधानीको लागी आवश्यक पर्ने बिभिन्न भौतिक संरचना तथा खाली जग्गाहरु प्रसस्त रहेको कारण इटहरी राजधानी हुनु पर्ने इटहरीका राजनीतिक दल तथा सरोकारवालाहरुले माग गर्दै आएका छन् ।

यता इटहरीका राजनीतिक दलका नेताहरुले भने सरोकार समाजको कार्यक्रमलाई प्रभावकारी बनाउन माग गर्दै आएका छन् । शुक्रबारको भेलामा नेकपाका नेता रामप्रसाद चौलागाईले भने ‘राजधानी प्राप्त हुने जस्तो विषयको आन्दोलन कर्मकाण्डी नहोस्, केन्द्रीय नेताहरुले बोलेकै कुरा हो, भूगोलले पनि साथ दिएको छ । इटहरीले केही न केही पाउनु पर्छ ।’ नेपाली काँग्रेसका इटहरी सभापती हेमकर्ण पौडेलले त राजधानी सरोकार समाजलाई नै विगठन गरेर कडा र विकल्प सहितको आन्दोलनमा जानु पर्ने बताएका थिए  । ‘प¥यो भने पार्टीको निर्णय भन्दा माथि उठेर इटहरीका लागि संघर्ष गर्नु पर्ने हुन्छ’ पौडेलले  भने ।  आफू पार्टीको झण्डा भन्दा माथि उठेर राजधानीको लागि संघर्ष गर्न तयार रहेको जनाउँदै उनले आन्दोलनको मोडल फेरेर निर्णय निकाल्न सक्न आन्दोलनमा जान जोड दिए । समाजका सचिव विष्टले सबैको सुझावको आधारमा दबाब कार्यक्रमलाई थप प्रभावकारी बनाउने बताएका छन् ।