विश्वको सबैभन्दा ठूलो पुरस्कारको रूपमा परिचित नोबेल शान्ति पुरस्कारका लागि स्वीडेनकी एक स्कुले छात्रा पनि मनोनयनमा परेकी छन् ।
ग्रेटा थन्बर्ग नामकी स्कुले छात्रा यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेकी हुन् । उनले अन्तर्राष्ट्रिय अभियान जलवायु परिवर्तनको क्षेत्रमा योगदान पु¥याएको भन्दै मनोनयनको सूचीमा राखिएको छ । उनलाई नर्वेका तीन जना सांसद्ले मनोनित गरेका छन् । यदि उनले यो पुरस्कार जितेमा पाकिस्तानकी मलाला युसाफजाईको रेकर्डलाई तोड्ने छिन् । यसअघि मलालाले १७ वर्षको उमेरमा नोबल शान्ति पुरस्कार जितेकी थिइन् । थन्बर्गले मनोनयनमा परेकोमा सम्मानित महसुस गरेको बताएकी छन् । नर्वेका सांसद् फ्रेडी एन्ड्रे ओभ्स्टगार्डले विदेशी सञ्चारमाध्यमलाई जानकारी गराउँदै भने, ‘हामीले ग्रेटा थन्बर्गलाई मनोनित गरेका छौं किनकी यदि हामीले जलवायु परिवर्तन रोक्न केही गरेनौं भने यसले युद्ध, कलह र शरणार्थी समस्याको उत्पादन गर्नेछ । शुक्रबार हजारौं स्कुले विद्यार्थीले संसारका सयभन्दा बढी देशमा जलवायु परिवर्तनविरुद्ध प्रदर्शन गरिँदै छ । थन्बर्गले शुरु गरेको ‘फ्राइडे फर द फ्यूचर’ नामक अभियान अन्तर्गत यो प्रदर्शन गरिएको हो । आजको कार्यक्रम अहिलेसम्मकै सबैभन्दा ठूलो हुने थन्बर्गको दाबी छ ।
थन्बर्गले ट्वीटरमा आफूलाई ‘१६ वर्षकी जलवायु कार्यकर्ता’ भनेर चिनाएकी छन् । उनले गत वर्षको अगष्टमा स्वीडेनको सांसद् अगाडि पहिलोपटक आफ्नो समूहसहित प्रदर्शन गरेकी थिइन् । त्यसयता उनले हरेक शुक्रबार विभिन्न कार्यक्रम गर्दै आएकी छन् । गत डिसेम्बरमा पोल्याण्डमा आयोजित राष्ट्रसङ्घीय जलवायु वार्तामा सम्बोधन गर्ने मौका पाएपछि उनीप्रति विश्व समुदायको ध्यानाकृष्ट भएको थियो । यसैगरी जनवरीमा उनले डाभोसमा आयोजित वल्र्ड इकोनोमिक फोरममा पनि सम्बोधन गरेकी थिइन् ।