साओ पाउलो । ब्राजिलको साओ पाउलो नजिकै रहेको एक विद्यालयमा गोली चल्दा कम्तिमा केही व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 


प्रत्यक्षदर्शीले दिएको प्रारम्भिक सूचनामा घटनामा आठ व्यक्तिको मृत्यु भएको बताइएको छ ।साओ पाउलो राज्यको सैनिक प्रहरी विभागले एएफपीलाई दिएको जानकारीमा भनिएको छ, सुजानोस्थित एक विद्यालयमा अपरिचित बन्दूकधारी प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको छ । 

ब्राजिलका धेरैजसो सञ्चारमाध्यमले पाँच जनाको मृत्यु भएको बताएका छन् तर यहाँको प्रसिद्ध एक टेलिभिजन टिभी ग्लोबोले दुई किशोरले गोली चलाएको हुनसक्ने र जम्मा आठ जनाको मृत्यु भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार प्रशारण गरेको छ । सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनामा १७ जना घाइते भएका छन् ।