बेइजिङ /  चीनमा गत एक महिनाको अवधिमा छ लाख ३० हजार जना नागरिक प्राकृतिक प्रकोपबाट प्रभावित भएका छन् । 
प्रकोप व्यवस्थापन मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत फेब्रुअरी महिना भरीमा यति ठूलो सङ्ख्यामा नागरिक प्रभावित भएका हुन् । 
सो अवधिमा बेपत्ता हुने र मृत्यु हुनेको सङ्ख्या भने छ जना रहेको मन्त्रालयका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । 
गत महिना चीनमा भूकम्प, न्यून तापक्रम (अति जाडो), हिमपात, बाढी, पहिरो, ठूलो वर्षा, जङ्गलमा आगलागीलगायतका प्राकृतिक प्रकोपका घटनाहरु भएका थिए । 
विभिन्न प्राकृतिक प्रकोपका कारण ३२ हजार जना विस्थापित भएर अन्यत्र बस्न थालेको मन्त्रालयले जनाएको छ ।  भूकम्पका कारणले मात्र फेब्रुअरी महिनामा दुई जनाको मृत्यु भएको छ भने ४४ हजार जना प्रभावित भएका छन् ।  प्रकोपले गर्दा घरहरुसहित धेरै भौतिक संरचनाहरुमा क्षति पुगेको समाचारमा जनाइएको छ ।