विराटनगर/ निमार्ण सामाग्री बोकेर तिव्र गतिमा गुडेन ‘टिफर’ दुर्घटना बढेपछि मोरङमा ट्राफिक प्रहरीले चालकको अभिलेख राखेर नियमन गरि उनीहरूलाई प्रशिक्षण दिन थालेको छ ।

टिपरका कारण १ नम्बर प्रदेशको १४ जिल्ला मध्धे मोरङमा सबैभन्दा बढी दुर्घटना हुन थालेपछि टिपर चालकलाई नियमन गर्न जिल्लामा प्रहरीले नयाँ अभियानको सुरुवात गरेको हो ।

जिल्ला ट्राफिक र जिल्ला प्रहरी कार्यालय मोरङले संयुक्त रुपमा सडकमा टिपरका कारण हुने दुर्घटना न्यूनीकरणका लागि बुधबारबाट टिपर चालक नियमन तथा अनुशिक्षण कार्यक्रम सुरु भएको छ ।

कोसी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाउँपालिकाको नेमुवामा यो कार्यक्रमको आरम्भ भयो । प्रत्येक दिन टिपर चालकले १५ मिनेट कार्यक्रममा सहभागी भएर ट्राफिक प्रहरीबाट प्रशिक्षण लिनु पर्ने छ ।

कार्यक्रममा सहभागी भएर पनि चालकले सडकमा ट्राफिक नियमको उल्लंघन गरेर तीव्र गतिमा टिपर कुदाएमा कारवाहीको दायरामा ल्याइने मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए ।

उनले टिपरका कारण दुर्घटना बढिरहेको जनगुनासो आउन थालेपछि टिपर चालकलाई नियमन गर्नका लागि नयाँ अभियानको सुरुवात गरिएको जानकारी दिए ।

‘टिपरका कारण दिनप्रतिदिन दुर्घटना बढिरहँदा जनमानसमा ठूलो चिन्ता छाएको छ,’ मोरङ प्रहरी प्रमुख केसीले भने, ‘टिपरले जनतामा उतारेको डरयुक्त भावना र वातावरणको अन्त्य गर्न चालकहरुलाई आवश्यक प्रशिक्षण दिइने छ ।’ एसपी केसीले सडकमा गुड्ने टिपरका हकमा धेरै प्रश्नहरु उब्जन थालेपछि टिपरसँग सम्बन्धीत कार्यक्रम सञ्चालन गर्नु परेको बताए ।

कार्यक्रम सञ्चालन गर्न नेमुवामा ट्राफिक प्रहरीसहितको छुट्टै एउटा युनिट खडा गरिएको छ । परिचालित ट्राफिक प्रहरीले टिपर कुदाउन चालक योग्य छन् की छैनन्, उनीहरुसँग लाइसेन्स छ की छैन, चालकले लाइसेन्स कहिले पाएको हो, चालकको शैक्षिक योग्यता र उमेर कति छ भन्ने बारेमा अभिलेख तयार पारिनेछ ।

ट्राफिक प्रहरीले चालकलाई टिपरका कारण भइरहेका दुर्घटना, दुर्घटना न्यूनीकरणका लागि अपनाउनु पर्ने सावधानी, तीव्र गतिका कारण हुने दुर्घटना लगायतका बारेमा सचेत गराउँदै चालकको अवस्था र सडकमा कुदाइने टिपर कन्डिसनमा भए नभएका बारेमा चेकजाँच समेत गरिनेछ ।

टिपरको अवस्था परीक्षणका लागि छुट्टै प्राविधिक टोली परिचालन गरिएको छ ।

पूर्वाञ्चल टिपर व्यवसायी संघका अध्यक्ष गोपाल कार्कीले टिपरका कारण बढिरहेका दुर्घटना न्यूनीकरण गर्न आफूहरुले पनि सहयोग गर्ने बताए ।

उनले टिपर चालकहरुलाई आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्ने हिसावमा टिपर कुदाउन चालकहरुलाई आग्रह गरे ।

बुढीगंगा गाउँपालिका अध्यक्ष बालचन माझीले सडकमा गुडिरहेका टिपरको आतंक नियन्त्रण गर्न आवश्यक देखिएको अवस्थामा सञ्चालन गरिएको कार्यक्रम सान्दर्भिक रहेको बताए ।

टिफरमा लागू हुने ‘टाइम कार्ड’ अन्तिम चरणमा
मोरङमा टिपर चालकहरूलाई दिने भनिएको ‘टाइम कार्ड’ लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । ‘टाइम कार्ड’ लागू गरिएपछि ट्राफिक प्रहरीले तोकेको समयमा टिपर गन्तब्यमा पुग्नु पर्ने हुन्छ ।

तोकेको समय भन्दा अगाडि नै पुग्ने टिपरलाई कारवाही गरिने मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताए ।

टिपरलाई दिने टाइम कार्ड पासबुक आकारको रहने बताइएको छ । प्रहरीले सम्पूर्ण प्रक्रिया पूरा गरी अहिले छापाखानामा पठाएको छ ।

मोरङमा दैनिक २ सय ५० देखि ३ सय वटासम्म टिपर चल्ने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कमा छ । ट्राफिक प्रहरीले किलोमिटरको आधारमा टिपरमा ‘टाइम कार्ड’ लागू गर्नेछ ।

निर्धारत समयभन्दा पहिले चालकले टिपर लगेमा कारबाहीको भागिदार बन्ने मोरङ प्रहरीको प्रवक्ता डिएसी घनश्याम श्रेष्ठले बताए ।

पहिलो पटक एक हजार रुपैयाँ जरिवाना असुल गरिने छ । दोस्रो पटक पुनः नियमको उल्लंघन गरेमा कारबाहीको दायरा बढाउने तयारीमा रहेको प्रहरीको भनाइ छ ।

‘टाइम कार्ड’ लागू भएपछि प्रहरीले छुटेको स्थान, पुग्ने स्थान, पुगेको समय र दस्तखत र छापसमेत लगाउनेछ ।

चालु आर्थिक वर्षको सात महिनामा प्रदेश १ मा टिपर दुर्घटनाका २० वटा घटना भएका छन् । दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् ।

४३ जना घाइते रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरीको तथ्याङमा उल्लेखछ । साउनयता मोरङमा १०, उदयपुरमा ४, झापा २, सुनसरीमा २, सोलुखुम्बामा १,संखुवासभा १ भोजपुरमा १ वटा दुर्घटना भएको देखिन्छ ।