डोटी(रासस)/ चालू आर्थिक वर्षमा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएको छ ।

नेपाल सरकारबाट सुरक्षित गर्भपतनको सेवा निःशुल्क दिइने भएपछि सो सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएको स्वास्थ्यकर्मी बताउँछन् । डोटीमा सात महीनाको अवधिमा ३६२ महिलाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला अस्पतालले जनाएको छ ।

आव २०७५÷०७६ को साउनदेखि माघसम्म ३६२ महिलाले उक्त सेवा लिएका छन् । सोमध्ये २० वर्षभन्दा कम उमेर समूहका ४७ र त्योभन्दा माथिका ३१५ रहेका छन् ।

जिल्ला अस्पातलका अनुसार गत आवमा भन्दा चालू आवमा उक्त सङ्ख्यामा तुलनात्मक रुपले वृद्धि भएको छ ।

विगतमा सुरक्षित गर्भपतन सेवा आधिकारिक तथा निःशुल्क नभएकाले स्वास्थ्य कार्यालयमा जम्मा सङ्ख्या रेकर्ड नभएको अस्पतालका नर्स गौरी शाहीले बताए ।

यहाँ हाल जिल्ला अस्पतालसहित विभिन्न निजी अस्पतालसहित १७ स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा उपलब्ध गराइँदै आएको छ ।