कास्की(घाचोक)/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघको राष्ट्रिय भेला मंगलबार देखी कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको वडा नं.१ घाचोकमा शुरु भएको छ ।

भेलामा फोनिजका संघिय अध्यक्ष डण्ड गुरुङ्ग, महासचिव मिलन लिम्बु, निवर्तमान महासचिव गजुरधन राई, नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव उजीर मगर, सातै प्रदेशका प्रदेश इन्चार्जहरु, जिल्ला अध्यक्षहरु र फोनिजवाट प्रतिनिधित्व गरेका नेपाल पत्रकार महासंघका पदाधिकारीहरुको सहभागिता रहेको छ ।

कार्यक्रम स्थल पोखराबाट ३५ किलो मिटर दुरीमा पर्दछ ।

सहभागी पत्रकार टोलीलाई फोनिज कास्की शाखाको विशेष व्यावस्थापनमा माछापुच्छ्रे गाउँपालिका वडा नं.१ मा रहेको कृषि पर्यटन सिकाई केन्द्र स्थापना तथा होमस्टे कार्यक्रमका पदाधिकारी एवं सदस्यहरुले भव्य स्वागत गरेका थिए । राष्ट्रिय भेला २ दिनसम्म सञ्चालन हुनेछ ।

भेलामा नेपाल पत्रकार महासंघको विधानलाई समावेशी बनाउने विषयमा विशेष छलफल हुने फोनिजका संघिय अध्यक्ष डण्ड गुरुङ्गले बताए ।

भेलामा देशभरका २ सय ५० आदिवासी जनजाति पत्रकार महासंघका पदाधिकारी, सदस्यहरु, जिल्ला अध्यक्ष, पार्षदहरुको सहभागिता रहेको अध्यक्ष गुरुङ्गले बताए ।

भेलामा प्रदेश महाधिवेशन संचालन निर्देशिका–०७५ को विषयमा विशेष रुपमा छलफल हुने महासचिव मिलन लिम्बुले बताए ।