ताप्लेजुङ/ १० वर्ष अघि दुईजनालाई छुरा प्रहार गरी हत्यामा संलग्न एक जनालाई पोखराबाट पक्राउ गरिएको छ ।

साबिक फुङलिङ गाविस वडा नम्बर ४ कोप्चेमा झापा जिल्ला स्थायी घर भई होटल ब्यबसाय गर्दै आएका दिलकुमार राई र राईकी गर्भवती शान्ता राईलाई छुरा प्रहार गरि हत्या गरी फरार रहेका मिक्वाखोला गाउँपालिका ४ साँबाका चतुरमान साँबा लिम्बू पोखराबाट पक्राउ परेका हुन् ।

पोखराको बिभिन्न स्थानमा लुकीछिपी बसेको सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा फागुन ५ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । लिम्बूलाई मंगलबार ताप्लेजुङ ल्याइएको छ । म्याद थप गरि आबश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख सञ्जयसिंह थापाले जानकारी दिए ।

प्रहरीका अनुसार २०६६ वैशाख ५ मा कोप्चे बजारस्थित होटल सञ्चालक दिलकुमार राई र उनकी गर्भवती श्रीमतीको हत्या गरेर लिम्बू फरार भएका थिए ।

यसरी भएको थियो घट्ना
घटना विवरण अनुसार चतुर्मान र बम फक्के भन्ने चन्द्र कामीले घटनाको दिन साबिकको खोप्लिङ गाविसमा लागेको मेलामा पुगेर मादकपदार्थ सेवन गरेका थिए ।

साँझ कोप्चेबजार पुगेर दिलबहादुर राईको होटलमा फेरि रक्सी मागेका थिए । राईले ‘दोकान बन्द गर्ने बेला भयो, बाहिर बसेर खानु’ भनेपछि चतुर्मानले ‘म कामी जस्तो छु र बाहिर बस्न भनियो’ भन्दै निहुँ खोजेका थिए ।

प्रत्युत्तरमा राईले ‘के दादा देखाएको’ भनेपछि चतुर्मानले आफ्नो गोजीबाट चक्कु निकालेर राईको भुँडी र घाँटीमा हानेका थिए । राईकी श्रीमती शान्ता आक्रमणबाट जोगाउन आउने क्रममा उनको पनि भुँडीमा चक्कु हानेर चतुर्मान फरार भएका थिए ।