यासोक (पाँचथर)/ छिमेकी राष्ट्र भारतको दार्जेलिङवासी अबदुल शाह धार्मिक स्थलको भ्रमणको क्रममा पाँचथरको कुम्मायक गाउँपालिकाको यासोक बजार पुगे । मन्दिर प्रवेश गर्ने स्थानमा सार्वजनिक शौचालयको बोर्ड राखिएको थियो । 
 
उनी हतार–हतार गर्दै शौचालय पुगे । तर, बोर्डमा सङ्केत गरेजस्तो थिएन । शौचालय बन्द देखेपछि आसपासका होटलमा गएर शौच गरे । उनीजस्तै आन्तरिक तथा बाह्य पर्यटकदेखि स्थानीयको दैनिक समस्या एउटै छ । गाउँपालिकाको धार्मिक स्थल कुम्मायक–कुस्सायक क्षेत्रमा यस्तो समस्या देखा पर्नु दुःखद् रहेको पर्यटक शाह बताउँछन् । ‘धार्मिक स्थलमा पूजा–आजा गर्दा मनोकामना पूरा हुने धार्मिक जनविश्वासले यहाँ आइपुग्यो तर एउटा पनि सार्वजनिक शौचालय व्यवस्थित नहुँदा दुःख लाग्यो ।’ उनले भने । उनी त एक उदाहरण मात्रै हुन । कुम्मायकमा पुग्ने आन्तरीक तथा बाह्य पर्यटकहरूलाई समेत शौचको समस्या छ । 
 
२०७० सालमा पहिलो पटक यासोक बजार तामझामका साथ खुल्ला दिसामुक्त क्षेत्र घोषणा भयो ।  तर कार्यान्वयन पक्ष फितलो रह्यो ।  खुल्ला दिसामुक्त क्षेत्र कागजमै सिमित हुँदा यसको  प्रत्यक्ष असर पर्यटन क्षेत्र र स्थानीयमा परेको छ । कुम्मायक गाउँपालिका सुख्खाक्षेत्र घोषणा भएको स्थानीय तह हो । लामो समयदेखि सरकारी शौचालय र सार्वजनिक शौचालय प्रयोगविहीन हुँदा प्रदूषण बढ्दै गएको छ ।
 
गाउँपालिकाको केन्द्र यासोक बजारमा मात्रै सामुदायिक भवनको शौचालय र सार्वजनिक शौचालय सञ्चालन नहुँदा बजारमा हटिया भर्न पुग्ने स्थानीय र बजारमा काम गर्ने श्रमिकले खुल्ला स्थानमा शौच गर्न बाध्य भएका छन् । यस्तो प्रवृत्तिले सार्वजनिक स्थानमा प्रदूषण बढेको कुम्मायक–४ का वडा सदस्य राजेश्वर सम्बाहाम्फे चिन्ता व्यक्त गर्छन् । उनी भन्छन्, ‘आफू निर्वाचित भएको समयदेखि नै सार्वजनिक शौचालय व्यवस्थित गर्नुपर्छ भन्दै आवाज उठाउँदै आएको थिएँ, तर अहिलेसम्म कार्यान्वयन नहुँदा समस्या भएको छ, जथाभावी प्रदूषण बढ्दा आफैंलाई पनि ठूलो असर परेको छ ।’ 
 
शौचालयको बोर्ड टाँस गरेको वडा कार्यालयले बिहानको समयमा मात्रै खुल्ला गर्ने र दिउँसो बन्द गर्ने गरेको छ । बिहानको समयमा सवारी साधन गाउँपालिकाको केन्द्रबाट छुट्ने समय भएकाले बिहानको समयमा मात्रै शौचालय सञ्चालन गर्नु परेको वडा न. १ यासोकका वडाध्यक्ष देवेन्द्रकुुमार लावतीले बताए ।
 
‘शौचालय सञ्चालनको लागि पानीको अभाव र कामदारको कारणले कठिनाइ भएको हो, यसको असर सबैमा परेको छ, डिप बोरिङबाट पानीको विकल्प खोजिएकाले चाँडै नै शौचालय बिहानदेखि बेलुकासम्म सञ्चालन हुन्छ ।’  लावतीले भने । गाउँपालिकाको केन्द्रमा भारतको दार्जेलिङ, सिक्किम, आसामलगायतका पर्यटकहरू आउने गरेका छन् । सार्वजनिक शौचालय व्यवस्थित नहुँदा स्थानीयले लाजैले पनि पर्यटकलाई निजी शौचालय प्रयोग गर्न दिनुपरेको स्थानीय बताउँछन् ।