धरान । धरानमा दोस्रो नेपाल च्याम्पियन खुल्ला राष्ट्रियव्यापी शारीरिक सुगठन प्रतियोगिता फागुनको दोस्रो साता हुने भएको छ ।

एलाइनेट जिमको १६ औं प्रस्तुतिका रूपमा हुन च्याम्पियनसीप फागुनको १० र ११ गते हुने भएको हो । फागुन १० गते प्रिजर्जिङ राउण्ड हुने छ भने प्रिजर्जिङ राउण्डबाट छनौट भएका खेलाडीहरू फाइनल राउण्डमा भिडन्त गर्न पाउने जिमका अध्यक्ष विक्रम लिम्बूले मंगलबारको पत्रकार सम्मेलनमा बताए ।

धरान ८ सभागृहमा हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजारसहित ट्रफी पाउने छ । त्यस्तै दोस्रोले ५० हजार, तेस्रोले ४० हजार, चौथोले ३० हजार र पाँचौंले २५ हजार रुपैयाँ पाउने छन् । व्यक्तिगत टाइटल विजेताले जनही ५ हजार रुपैया पाउने छन् । जसमा बेष्ट पोजर, मस्कुलर मेन, मोस्ट इम्प्रुभ र वेष्ट टिम छन् ।

५५ केजी तौल समूहदेखि ७५ केजी तौल समूहबीचमा भिडन्त गराइने भएको छ । यसपटक ४० देखि ५० खेलाडीहरूले स्पर्धा गर्ने सम्भावना रहेको उपाध्यक्ष विकासकुमार गुभाजुले बताए । सोही क्रममा राष्ट्रिय जजेज कार्यशालासमेत गरिने भएको छ । एउटा क्लबबाट १० जना खेलाडीहरूले मात्रै सहभागी जनाउन पाउने छन् । हरेक तौल समूहका विजेता ओभरअल राउण्डमा प्रवेश गर्ने छन् ।

यसअघि पहिलो च्याम्पियनसीप झापाका रामबहादुर दहालले जितेका थिए । यसक्रममा ओसियन पार्कका सञ्चालकले जिमलाई १२५ थान टिसर्ट प्रदान गरेको छ ।