यासोक(पाँचथर)/ पाँचथरको कुम्मायक गाउँपालिकामा २०३७ सालमा विद्युत् बिस्तार भयो । भौगोलिक अवस्थाको अध्ययननै नगरी गाउँपालिकामा विद्युतीकरण भएको थियो । तर अहिले सोही स्थानमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा स्थानीय मारमा परेका छन् ।

जिल्लाको लुम्फागुन क्षेत्रको जङ्गल र पहरा छिचोलेर विद्युत् मर्मत गर्न चुनौती भएपछि सङ्घीय सरकारले ५० लाख रकम विनियोजन गरेको छ । भौगोलिक विकटताले विद्युत् बिस्तार भएको भन्दै ५० लाख रुपैयाँ विनियोजन गरेको पाँचथरका प्रतिनिधिसभा सदस्य वसन्त नेम्बाङले बताए ।

अधिकांस विद्युत्का पोलहरू वनजङ्लको क्षेत्रबाट भएकाले मर्मत सम्भार गर्न धेरै समय लाग्दा लामो समयसम्म विद्युत् अवरुद्ध हुने गरेको छ । विद्युत्का पोलहरूलाई हालको फिदिम यासोक सडक–खण्डबाट बिस्तार गर्नको लागि रकम विनियोजन गरेको नेम्बाङले जनाए । गाउँपालिकाको आवश्यकतालाई मध्य नजर गर्दै जङ्गलको पोल सडकमा सार्न लागिएको उनले जनाए ।

यासोक फिदिम ११ केभिए विद्युत् प्रसारण लाइनको लामो समयदेखिको समस्या समधान हुने पूर्वमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य डम्बरसिंह सम्बाहाम्फेले बताए । गाउँपालिकामा करोडौंको लागतमा ग्रामीण विद्युतीकरणको काम हुँदै आएको छ । आवश्यक स्थानमा रकम प्रयोग गर्ने गरी विनियोजन भएको थियो । तर समस्याको जड भनेकै जङ्गलको क्षेत्र भएपछि आवश्यक छलफल र परामर्शको माध्यमबाट विद्युत्का पोलहरू सडकमा सार्न लागिएको हो’ सम्बाहाम्फेले भने । कुम्मायक गाउँपालिकाको ११ केभिए विद्युत् प्रसारण लाइनबाट फाल्गुनन्द गाउँपालिकामा विद्युत् बिस्तार भएको छ ।

त्यस्तै तुम्बेवा गाउँपालिकामा पनि विद्युत् बिस्तारको काम धमाधम हुँदै आएको छ । दुवै गाउँपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी योजनामा पनि सोही विद्युत् प्रसारण लाइनबाटै विद्युत् उपलब्ध गराउनु पर्ने भएकाले ११ केभिएबाट ३३ केभिएसम्म क्षमता बढाउन पहल गर्दै आएको उनको भनाइ छ । ‘अहिले जेजति विद्युत् प्रसारण लाइन छ । त्यसले धान्न नसक्ने भएकाले पनि हामीले ३३ केभिए प्रसारण लाइनको माग गरेका हौं । यसमा सबैको धाराणा सकरात्मक छ’ उनले भने ।

अवरुद्ध विद्युत् सञ्चालन
गाउँपालिका वडा नं। १ र ५ को भदौरेमा रहेको ५० केभिए ट्रान्सफर्मर खरावी आएपछि सिङ्गो बस्ती नै अन्धकार भएको थियो । विगत लामो समयदेखि समस्या समधान नहुँदा स्थानीयमा मारमा परेका थिए । पुरानो ट्रान्सफर्मरका कारण पटक–पटक समस्या दोहोरिएपछि पूर्वमन्त्री डम्बरसिंह सम्बाहाम्फे र प्रतिनिधिसभा सदस्य वसन्त नेम्बाङसहितको टोलीले प्राधिकरणसँग परामर्श लिएको थियो ।

पुरानो ट्रान्सफर्मरबाट नागरिकले सास्ती भोग्दै आएका कारण नयाँ ट्रान्सफर्मर जडान गर्ने विषयमा सहमति भएपछि उक्त क्षेत्रमा नयाँ ट्रान्सफर्मर जडान भएसँगै विद्युत् सञ्चालन भएको यासोक विद्युत् शाखा प्रमुख खेम निरौलाले बताए । ५ लाख ५० हजार मूल्य पर्ने ट्रान्सफर्मर जडानपछि लामो समयदेखिको समस्या टरेको निरौलाले बताए । विद्युत् सञ्चालनमा आएसँगै दुवै वडाका १ सय ७६ घरधुरी लाभान्वित भएका छन् ।