काठमाडौं/ बज्रकिल्या प्रोडक्शनले ‘फस्ट इन्टरनेशनल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ कार्यक्रम शनिबार काठमाडौंमा गरेको छ । 
 
कार्यक्रममा महानायक राजेश हमाल, पत्रकार ऋषि धमला, रेस्लर हिमालयन टाइगरलगायत ११ व्यक्तिलाई ‘शान्ति तथा मानवता’ अवार्ड प्रदान गरियो । फिलिपिन्सकी राजकुमारी हर हाइनेस मारिया लियोनोरा टोरेसले सम्मानित व्यक्तित्वलाई अवार्ड प्रदान गरिन् ।
 
बज्रकिल्या प्रोडक्शनका कार्यकारी प्रमुख जाम्पा फुर्वा दोर्जे लामाले हिमालय क्षेत्रको भाषा, संस्कृति संरक्षण गर्न र नेपाली चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय रूपमा अघि बढाउन ‘फस्ट इन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ कोशेढुङ्गा सावित हुने बताइन् । फिलिपिन्सकी राजकुमारी टोरेसले शान्ति र मानवता सबैले आत्मसात गर्न सके मात्र यसले दिगो रूप लिने बताक्ष्न् । महानायक राजेश हमाल नेपालमा यस्तो सम्मेलन आयोजना हुनु गर्वको विषय भएको बताए । 
 
कार्यक्रममा गायक मिङ्मा शेर्पा, सगरमाथा आरोहण गर्ने पहिलो शेर्पा महिला डोमा शेर्पा, कान्छो चलचित्र निर्देशक सौगात विष्ट, सामाजसेवी गेसे सोनाम वान्ङ्चेन, अन्तराष्ट्रिय प्रस्तोता मसाकी माइकललगायतलाई अवार्ड प्रदान गरिएको हो । शान्ति र मानवताको क्षेत्रमा योगदान पु¥याएको भन्दै विभिन्न कलाकार, समाजसेवी तथा खेलकुद क्षेत्रका हस्तीहरूलाई कदर–पत्र प्रदान गरिएको थियो ।