इटहरी/ इटहरीमा जारी जिल्ला स्तरीय विद्यालय भलिबल प्रतियोगिताको उपाधि समिट मावि धरान र हाम्रो बोडिङ स्कुलले जितेका छन् ।
 
आइतबार सम्पन्न फाइनल खेलमा छात्रातर्फ समिट मावि धरानले इटहरीको बालविकासलाई ३–० को सोझो सेटमा पराजित गरेको आयोजकले जनाएको छ । छात्रातर्फ हाम्रो बोडिङ स्कुलले सोझो सेटमा युनाइटेड गोर्खा एकेडेमी धरानलाई पराजित गरेको थियो ।
 
यस्तै छात्रातर्फ भएको तेस्रो स्थानको खेलमा पीसजोन स्कुल इटहरीले आयोजक सेक्रेट हार्टलाई ३–१ को सेटमा पराजित गरेको थियो । छात्रतर्फ ब्राइट फ्यूचर बोर्डिङ स्कुल इटहरीले ज्ञानदर्पण स्कुललाई सोझो सेटमा पराजित गर्दै तेस्रो बन्यो । प्रतियोगिता विजेता छात्र तथा छात्रा दुवै तर्फको टीमलाई आयोजकले नगद १२–१२ हजार रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गरेका छन् ।
 
यसैगरी उपविजेता टीमले नगद १०–१० हजार रुपैयाँ र तेस्रो हुने टीमले नगद ६–६ हजार रुपैयाँ प्राप्त गरेको आयोजक सेक्रेटहार्ट बोर्डिङ स्कुलका प्रिन्सिपल डिककुमार तामाङले जानकारी दिए । प्रतियोगितामा छात्रतर्फका उत्कृष्ट खेलाडी समिट माविका करण पलिखे, छात्रातर्फ हाम्रो बोर्डिङ स्कुलकी लावती लिम्बू घाषित भइन् । 
 
इटहरीस्थित सेक्रेटहार्ट बोर्डिङ स्कुलको आयोजनामा बिहीबारदेखि शुरु भएको एसएस रनिङ शिल्ड भलिबल प्रतियोगितामा छात्रतर्फ १६ र छात्रातर्फ १४ वटा टिम सहभागी थिए ।