इटहरी/ सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा प्रचार समितिका सदस्य रामप्रसाद  रिजालले संविधान संसोधन नगरेको भन्दै आपत्ति जनाएका छन् ।
 
संविधान संसोधन गर्ने सरकारमा आफ्नो पार्टी गए पनि हालसम्म संसोधनको मुद्दा अगाडि नबढेको भन्दै संविधान संसोधन नगरे सरकारबाट फिर्ता हुने बताएका हुन् । इटहरीमा पत्रकार सम्मेलन गर्दै रिजालले संविधान संसोधन नभए सरकारबाट हट्ने चेतावनी दिए । आफ्नो पार्टी सरकारमा जाँदा नेकपा नेतृत्वसँग  गरेको सम्झौता कार्यन्वयन नगरेको भन्दै आफूहरू सडक आन्दोलन गर्नेसमेत तयार भएको बताए । संविधान संसोधन नभए सरकारमा बस्न औचित्य नभएको भन्दै फिर्ता आउने उनको भनाइ थियो ।
 
हिमाल, पहाड र मधेसलाई जोड्ने पार्टीले गाउँगाउँमा अभियान चलाइरहेको बताउदै गणतन्त्रमा पनि राजाको सक्रियतालाई सरकारले नियन्त्रण गर्नुपर्ने बताए । नेकपाको नेतृत्वको सरकार, सरकार विरोधीसँग सम्झौता गर्दै हिडेको आरोप लगाए । राजा बोक्ने काङ्ग्रेसको गतिविधि शङ्कास्पद भएको बताउदै राजालाई सपोर्ट गरे काङ्ग्रेसको हालत पनि राजाकै हुने चेतावनी दिए ।
 
प्रदेश सरकारलाई अधिकारविहीन बनाएको आरोप लगाए । ‘प्रमुख जिल्ला अधिकारीभन्दा प्रदेश सरकार सानो बनाउनु आफैँमा हाँस्यास्पद छ’ उनले भने । सङ्घीयता र गणतन्त्रलाई मास्न देशमा नकरात्मक गतिविधि भइरहेको भन्दै रिजालले भने, ‘देश सङ्घीयतामा लाने हो भने स्थानीय सरकारलाई प्रदेश सरकार मातहतमा राख्नु पर्छ ।’ देशलाई ११ पदेशमा विभाजन गर्नुपर्ने उनको भनाइ थियो ।