इटहरी/ जोगवनी–किमाथाङ्का त्रिदेशीय व्यापारिक मार्ग विस्तारमा इटहरीका अगुवाले मनपरी मापदण्ड बनाएको भन्दै आपत्ति जनाएका छन् ।

जोगवनीदेखि तरहरा क्षेत्रसम्म निर्माणाधीन सडक विस्तारमा जथाभावी मापदण्ड कायम भएको भन्दै व्यापारीहरूले आपत्ति जनाएका हुन् । कतै सानो, कतै ठूलो बाटो विस्तार भइरहेको भन्दै इटहरीका व्यापारीहरूले एकरूपता ल्याउन माग गरेका हुन् ।

इटहरी चौकदेखि तरहरासम्म र खनार, दुहबी क्षेत्रमा मनपरी मापदण्डमा सडक विस्तार भइरहेको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । जोगवनीदेखि दुहबीसम्म ५५ फिट, दुहबीको मुख्य बजारमा ५४ फिट र बजारदेखि इटहरी प्रवेशद्वारसम्म ५५ फिट भए पनि इटहरीको मुख्य चौकमा भने ६५ फिट बाटो विस्तार गर्न लागेको भन्दै उनीहरूले विरोध जनाएका छन् । तरहराक्षेत्रमा ६५ देखि ७० फिटसम्म बाटो निर्माण भइरहेको छ ।

उद्योग वाणिज्य सङ्घ इटहरीका पूर्वअध्यक्ष रोहित प्रसाईले सडक विस्तार अव्यवहारिक ढङ्गबाट भइरहेको आरोप लगाए । एउटै बाटो जथाभावी मापदण्डमा निर्माण भइरहेको भन्दै इटहरी चौकमा ड्रेनसहित ५५ फिटमा बनाउन माग राख्दै इटहरी उपमहानगरपालिका र ६ लेन सडक निर्माण आयोजनामा ज्ञापन–पत्र बुझाएको बताए । उनले भने, ‘बाटो विस्तारमा मनपरी मापदण्ड हामीलाई मान्य छैन । हामी विकासविरोधी हैनौं तर अन्य शहरकै अनुरूप इटहरीमा पनि बाटो बन्नुपर्छ ।’

इटहरीका मेयर द्वारिकलाल चौधरीले सडकको विषयमा ज्ञापन–पत्र आएको बताउँदै यस विषयमा सडक आयोजनासँग छलफल गरी के गर्ने भनेर निर्णयमा पुग्ने जनाए । लामो समयदेखि सडक विस्तारको कामले प्राथमिकता नपाएको भन्दै यस विषयमा छिट्टै टुङ्गोमा पुग्ने बताए । उनले भने, ‘व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण सुस्त भइरहेको छ ।’

६ लेन सडक योजनाका इञ्जिनियर उपेन्द्र दासले इटहरी बजारक्षेत्रमा सडक विस्तारमा अवरोध भइरहेको बताए । लामो समयदेखि स्थानीयको अवरोधका कारण सडक विस्तार रोकिएको भन्दै उनले केही दिनपछि स्थानीय सरकारसहितको टोलीले क्षेत्र अवलोकन गर्ने बताए । ‘हामीले सरकारी मापदण्डमा बाटो विस्तार गर्नुपर्छ भनेका छौं, स्थानीयले केही शर्त राखेका कारण समस्या आइरहेको छ’–उनले भने ।

परियोजनाअन्तर्गत पहिलो चरणमा रानीदेखि इटहरीसम्म २९ किलोमिटर ६ सय मिटर, नाला र फुटपाथ निर्माणका लागि ११ प्याकेजमा ५ अर्ब ४ करोड ६१ हजारमा ठेक्का लागेर काम भइरहेको आयोजनाले जनाएको छ । धरानको जिरो पोइन्टसम्म उक्त सडक १० अर्ब ९८ करोड लागतमा अहिले केन्द्रबाट १५ मिटर दायाँ र १५ मिटर बायाँ गरी ३० मिटरमा ६ लेन सडक सुस्त गतिमा निर्माण भइरहेको छ । सुनसरीको दुहबी बजार खण्डमा मापदण्डअनुसारको जग्गा सरकारले उपलब्ध नगराइदिँदा निर्माणका लागि टेण्डरसमेत आह्वान हुन सकेको छैन ।

सरकारले ०३४ असार २० गते राजपत्रमा सडकको बीचबाट २५ मिटर दायाँ–बायाँ मापदण्ड कायम गरेको थियो तर ०५४ मा पुनः राजपत्रमा उक्त सडकको दुहबी बजार खण्डमा सडकको बीचबाट सवा आठ मिटर मापदण्ड कायम गरेकाले समस्या भएको ६ लेन सडक निर्माण योजनाले जनायो । दुहबी बजार खण्डमा १ सय ७७ घर भत्काएर २ बिघा जग्गा अधिग्रहण गरेपछि मात्रै सडक बीचबाट १५–१५ मिटर कायम हुने आयोजनाले बताएको छ ।