धरान / वरिष्ठ गायक दीप श्रेष्ठलाई धरानमा अभिनन्दन गरिएको छ । संगीत क्षेत्रमा लागेको ५० औं बार्षिक उत्सवका अवसरमा उनलाई अभिनन्दन गरिएको हो ।
शनिबार राती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित दशहरा हलमा आयोजीत कार्यक्रममा प्रदेश नं.१का मुख्यमन्त्री शेरधन राईले अभिनन्दनपत्र, नेपाली ढाका टोपी र दोसल्ला पहि¥याएर अभिनन्दन गरे । प्रदेशका सभामुख प्रदीप भन्डारी, धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भन्डारी सुवेदी लगायतले पनि गायक श्रेष्ठलाई फुल, माला र खादा लगाएर अभिनन्दन गरे । अभिनन्दनपछि बोल्दै मुख्यमन्त्री राईले अहिलेसम्म राज्यले दीप श्रेष्ठ जस्ता कलाकारको पहिचान र कदर गर्न नसकेको बताउँदै भने, ‘दीप श्रेष्ठले धरान र प्रदेशको मात्र नभई देशकै इज्जत राख्नु भएको छ । बल्ल अब देशले एउटा सकारात्मक बाटो लिएको छ र समृद्धिको बाटोमा बल्ल पुगेको छ र हिमाल ,पहाड र तराइको सहिस्नुता जोड्ने दीप श्रेष्ठ जस्ता व्यक्तित्वहरुको सम्मान आवस्यक छ भन्नुहुदै आगामी फागुन अन्तिममा यो प्रदेश न . १ को धरानमा आयोजना हुने ऐतिहासिक हुने चलचित्र महोत्सवमा प्रदेश सरकारले पनि सम्मान गर्ने छ ।’

नेपाल क्लब हङकङको आयोजना, सिल्भर इन्टरटेन्मेन्टको व्यवस्थापन, धरान उपमहानगरपालिकाको विशेष सहयोग र टुवोर्गको प्रायोजनमा भएको अभिनन्दन कार्यक्रममा धरानका संगीत, व्यवसाय, राजनीतिक र सामाजिक क्षेत्रका व्यक्तित्वहरुकामाझ अभिनन्दित गायक श्रेष्ठले ‘म पत्थरको देउता होईन’,‘भन्थिन् मेरी उनी’,‘हुँ यात्री म एउटा’,‘कति कमजोर रहेछ भाग्य’,‘जति हाँसौं भन्छु’,‘मुटुको ढोका’, मेरो आँखामा’, ‘हर रात सपनीमा’, ‘मेरो सपनाको सहारा’, ‘साईली बरी चिया बारीमा’, ‘म त दुरदेखि आएँ’ र ‘वितेका कुराले’ गीत गाए । गायक श्रेष्ठलाई उनकै श्रीमती गायिका सोफिया गुरुङ श्रेष्ठ र गायिका तायाहाङ्मा राईले गायनमा साथ दिए । आफु जन्मे, हुर्केको ठाउँमा अभिनन्दित हुँदा गायक श्रेष्ठले खुसी व्यक्त गर्दै भने,‘आफ्नै घरआँगनमा सम्मानीत हुन पाउँदा सबैभन्दा धेरै खुसी लाग्दो रहेछ ।’
२०२५ साल पुस १ गते धरानबाट नाटक लिएर गएको टोलिमा रहेका दीपले तत्कालिन राजा महेन्द्रका अगाडि ‘म पत्थरको देउता होईन’गीत गाएपछि त्यसको भोलिपल्टै रेडियो नेपालमा उनका दुई गीत रेकर्ड भएका थिए । त्यसपछि उनी निरन्तर संगीत क्षेत्रका सक्रिय छन् । संगीतयात्राको ५० वर्ष पुगेको अवसरमा गत महिना उनले हङकङमा प्रस्तुती दिएका थिए ।
सोहि कार्यक्रममा आयोजकको तर्फबाट कार्यक्रमका सभापति तथा हङकङ नेपाली महासंघका पूर्वअध्यक्ष प्रदीप थापाले धरानमा निर्माण भएको आसरा सुधार केन्द्रका लागि १ लाख रुपैयाँ प्रदान गरेका थिए ।
गायक श्रेष्ठको अभिनन्दको अवसरमा शनिबार विहान धरानमा अभिनन्दन पदयात्रा पनि गरिएको थियो । धरान संगीत प्रतिष्ठान र सेवक अभियानले संयोजन गरेको अभिनन्दन पदयात्रामा गायक श्रेष्ठका दम्पत्तीलाई खादा, मालाले सम्मानगरी नगर परिक्रमा गराईएको थियो । प्रदेश सांसद सावित्री श्रेष्ठसहित धरानका संगीतकर्मी, पदयात्रीहरुसहितको टोलिले गायक श्रेष्ठका गीतहरु घन्काउँदै धरानको पुतलीलाईन, भानुचोक, महेन्द्रपथ, छाताचोकहुँदै सिंहदेवीचोकसम्म परिक्रमा गराइएको थियो ।
गायक दीप श्रेष्ठलाई अभिनन्दन गर्दै मुख्यमन्त्री शेरधन राई लगायत अतिथिहरु ।