सेकुवा धेरैलाई मन पर्ने स्वादिष्ट खानेकुरा हो । विवाह, पार्टी वा विशेष समयमा खसी वा चिकेनको सेकुवा हाम्रो संस्कृति बन्दै गएको छ । दुई–चारजना साथीभाइ भेटेर कुराकानी गर्दै सेकुवा खानुको मज्जा बेग्लै ।

सेकुवा बेचेरै करोडपति बनेका छन् इटहरीका मणिन्द्र कटुवाल । ९० हजार लगानी गरी २०५४ सालमा इटहरी चौकमा हिमगिरी रेष्टुरेण्टबाट व्यापार शुरु गरेका कटुवाल अहिले करोडपति बनेका छन् । लामो समयसम्म सङ्घर्ष गरेका कटुवालको जिन्दगी सेकुवा पसलबाटै फेरिएको छ । व्यापार गरेको २२ वर्षमा उनले करोडौं रकम मात्र कमाएनन्, परिवारका सदस्यलाई राम्रै विद्यालयमा पढाए बढाए पनि ।

जे व्यापार गरे पनि निरन्तरता भयो भने जीवनमा प्रगति हुुन्छ भन्ने उदाहरण हुन् कटुवाल । अहिले इटहरीमा कटुवाल होटल सञ्चालन गर्दै आएका छन् । शुरुमा दिनको १५ रुपैयाँमा सेकुवा र १५ रुपैयाँमा मासुभात खुवाउने गरेको सुनाउँदै कटुवाल भन्छन्, ‘अहिले समय नै महँगो भयो । अहिले २ सय ५० रुपैयाँ प्लेट सेकुवा बेच्दै आएको छु ।’ उनले सेकुवा खानेहरूको सङ्ख्या शहरमा बढ्दो रहेको बताए ।
शुरुमा इटहरीमा ४ वटा मात्र रेष्टुरेण्ट थियो ।

त्यहीबेला १५ रुपैयाँको सेकुवाभन्दा मासुभात बढी बिक्री हुन्थ्यो । ‘अहिले सेकुवाको मोह बजारमा बढ्दो छ’ उनले भने, ‘सबै परिवार मिलेर काम गरेका थियौं । २०५६ सालमा ३ लाखले इटहरीमा १३ धुर जग्गा किनेको थिएँ, अहिले त्यही घरजग्गा करिब साढे ३ करोड लगभग पर्छ ।’

अहिले सेकुवा खानेहरूको सङ्ख्या दिनदिनै बढिरहेको उनी बताउँछन् । पहिला इटहरीमा मात्र राम्रो चलेको सेकुुवा पसल अहिले इटहरीका साथै तरहराक्षेत्रमा पनि बढ्दो छ । तरहरा क्षेत्रमा बढिरहेको सेकुवा पसलहरूको सङ्ख्या तरहरा क्षेत्रमा फस्टाउँदो रहेको छ ।

२०५६ सालदेखि सेकुवा बिक्री गर्न थालेको बताउँदै उनले त्यसयता दैनिक ५ केजी मासुको सेकुवा बिक्री गर्ने गरेको कटुवाल बताउँछन् । २०५६ पछि एक दिनमा ६५ केजीसम्म मासु बेचेको उनी बताउँछन् । उनले दुई छोरा, दुई छोरीलाई राम्रो स्कुलमा पढाएका छन् । उनीहरूलाई राम्रो शिक्षा–दीक्षा दिएको गर्वका साथ उनी भन्छन् ।

पहिला मासु खरिद गरेर ल्याउँदा महँगो भएपछि अहिले हप्तामा दुईवटा खसी आफैले काट्ने गरेको उनी बताउँछन् । ‘खसीकै सेकुवा बेचेर मेरो जिन्दगी परिवर्तन भयो । अझै पनि म आफै सेकुवा पोल्छु, मेरो मेहनत होटलमै छ’–उनले थपे ।

कटुवालले २०४५ सालमा चैनपुरबाट देवकी अधिकारीसँग विवाह गरे । विवाहपछि जीवनमा धेरै परिवर्तन आएको अधिकारी बताउँछन् । ‘शुरुको समयमा दुःख भए पनि अहिले हामी खुशी छौं’ उनी भन्छन्, ‘मेहनत गरे आम्दानी राम्रै हुने रहेछ ।’ उनले दुई छोरीलाई बिबिएस पढाएर विहेदान गरिदिएका छन् । जेठो छोरा वीरबहादुर कटुवाललाई सेकुवा पसल खोलिदिएका छन् ।

सेकुवा बेचेर छोरालाई डाक्टर पढाउँदै
धनाढ्यहरूले मात्र डाक्टर पढाउन सक्छन् । डाक्टर पढाउन राम्रै आयस्रोत हुनुपर्छ भन्नेहरूलाई इटहरीका मणिन्द्र कटुवालले सेकुवा बेचेर, भाँडा माझेर आफ्नो छोरालाई डाक्टर पढाएका छन् । छोराको डाक्टर पढ्ने रहर जसोतसो पूरा गरिदिएको उनी बताउँछन् ।

कान्छो छोरा सुजन कटुवाललाई एसबिबिएस पढाए । उनी अब अस्पतालमा काम गर्ने तरखरमा छन् । ‘डाक्टर पढाउन ९० लाख खर्च भयो, मैले छोरालाई डाक्टर पढाउने शुरुमा कल्पना पनि गरेको थिइनँ । अहिले छोराको डाक्टर पढ्ने सपना मेरो यही सेकुवा पसलले पूरा ग¥यो’ –उनी थप्छन् ।