सातायता सुनसरीमा एक महिला र एक पुरुष फरक–फरक परिवेशमा मृत भेटिए । रामधुनी वडा नं. १ का ८५ वर्षीय नरबहादुर क्षेत्री भण्डारीको मङ्गलबार बिहान मृत अवस्थामा सुतेको कोठामै शव भेटिएको हो । टाउकोमा चोट लागेको अवस्थामा नरबहादुर मृत भेटिए । उनको हत्या भएको भन्दै प्रहरीले हत्यारासमेत सार्वजनिक ग¥यो । यता, इटहरी वडा नं. ४ को दिलकुमारी लिम्बूको घरमा डेरा गरी बस्ने एक युवाले सोही घरमा बस्ने एक महिलाको हत्या गरेका छन् । सोलुखुम्बु देउसा वडा नं. ४ घर भई इटहरीमा ज्यालादारी मिस्त्री काम गर्ने ३६ वर्षीय लालबहादुर राईले खोटाङ ज्यामिरेकी २९ वर्षीया सोनिया राईको हत्या गरेको प्रहरीले जनायो । सोनियाका श्रीमान् तेह्रथुम अठराई वडा नं. २ घर भएका सूर्यबहादुर नेपाली ६ वर्षदेखि साउदी अरबमा छन् ।

अपराधी मानसिकता कतिबेला कहाँ सक्रिय हुन्छ र भयङ्कर रूप लिन्छ भन्न सकिँदैन । यो मात्र हैन, पछिल्लो समयमा देशको अवस्था र समाचारको अपडेटलाई हेर्ने हो भने अपराधका घटनाहरू ह्वात्तै बढेका छन् । समाज असुरक्षित बनिरहेको छ । विभिन्न आयामबाट अपराधका घटना बढिरहेको छ । तथ्याङ्कमा सीमित हाम्रो मानसिकताले यसभित्र मौलाइरहेको आपराधिक मानसिकताको खोजी गर्न नसक्दा घटना हेर्नु, सुन्नु र जिब्रो टोक्दै बस्नु नियति बनेको छ । हत्या, बलात्कारबाहेक चोरी, डकैती, दुव्यर्सन, अपहरणलगायतका विभिन्न घटनाहरू पनि हामीले दिनहुँजसो देख्ने, सुन्ने र पढ्ने गरिआएका छौं ।

समाज जति विकसित हुँदै गयो, त्यति मानिसका चाहना र आवश्यकताहरू थपिनु स्वभाविक हो । यद्यपि मानिसमा दुःख र मेहनतले भन्दा पनि आपराधिक गतिविधिबाट अगाडि बढ्ने मनोकांक्षा बढ्दै गएको देखिन्छ । फलस्वरूप विकाससँगै अपराधले पनि आधुनिक रूप लिन थालेको छ । विज्ञानले भिœयाएको प्रविधिको दुरूपयोग गर्दै हत्या, अपहरण गर्ने र करोडौं फिरौती लिएर जीवनलाई मोजमस्तीको धुवाँमा उडाउनेहरू नियन्त्रणबाहिर छन् । ‘समाज जसरी विकसित हुँदै छ, अपराधका घटनाहरू पनि विभिन्न माध्यमबाट बढिरहेका छन् ।

आज मोबाइल फोन, सामाजिक सञ्जाललगायतको प्रयोग गरेर अपराधको साङ्गठनिक सञ्जालसमेत तयार भइरहेको छ । समाजलाई अपराधमुक्त, विकसित र सुसभ्य बनाई अगाडि बढाउने हो भने समाजमा हुने हरेक कुरालाई नियालेर अपराधलाई निरुत्साहित गर्ने संयत्र निर्माण गर्न जरुरी छ । अपराध भन्ने कुरा सामाजिक प्रक्रिया भएको र अपराध बिनाको समाज नहुने हुँदा यसलाई पूर्ण निराकरण गर्न नसके पनि न्यूनीकरण गर्न सकिन्छ भन्नेतर्फ नागरिक समाज र राज्यको विशेष चासो हुनुपर्ने देखिन्छ ।

प्रदेश नं. १ का जिल्लामध्ये सुरक्षाका हिसाबले सुनसरी संवेदनशील मानिन्छ । तराईका भारतीय सीमावर्ती क्षेत्रमा बढी भारतीय सङ्गठित आपराधिक गिरोहबाट नेपालीको हत्या हुने गरेकाले सुनसरीबासीलाई सुरक्षाको चिन्ताले बढी नै पिरोल्छ । यहाँ शृङ्खलाबद्ध रूपमा घटना हुने क्रममै पछिल्लो समय अर्कै प्रेमीसँग लागेर रोमान्स गर्ने र पैसा बर्बाद पार्ने श्रीमतीका श्रीमान् विदेशबाट घर फर्केपछि आवेसमा आएर कतिपय महिलालाई हत्या शिकार भएका छन् । कतिपयले भने विदेशमा श्रीमान् रहेका महिलासँग रोमान्स र पैसा हात पार्नका लागि नक्कली प्रेमको नाटक रच्ने र घटना सार्वजनिक हुन नदिनका लागि महिलालाई हत्या गर्ने गरेको पाइएको छ ।

कतिपय घटनामा महिला पनि आफ्ना प्रेमीको हत्यारा बन्ने गरेका छन् । सुनसरीमा एकपछि अर्को हत्याको घटना भइरहेका छन् । साउनयता सात महिनाको अवधिमा १५ वटा हत्याका घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यी हत्याका घटनामा संलग्न भएको आरोपमा २५ जना पुरुष र दुई महिलालाई पक्राउ गरी मुद्दा चलाइएको छ । नेपालमा धेरै प्रकारका आपराधिक घटना बढ्दै गएका छन् । यो क्रम दिनानु दिन बढिराखेको छ । हत्या, बलात्कार, यौनजन्य हिंसा, घरेलु यातना आदि जस्ता अन्यायबाट हाम्रा समाजका धेरै छोरी, दिदी, बहिनीलगायत महिलाहरू प्रताडित हुँदै आएका छन् ।

कतिपय पीडित महिलाहरू आफूमाथि भएको अन्यायको विरुद्ध आवाज उठाउने साहस गर्न नसकी अन्याय र अत्याचार सहन गरी बस्न विवश छन् । समाजका तथाकथित ठालुहरू, हुनेखानेहरूबाट यस्ता घटना बढी मात्रामा घटेका छन् र यस्ता घटनाहरू स्रोत र शक्तिको आडमा दबाइने भएकाले सतहमा आउन पाएका छैनन् । यस्ता घटनाहरूबाट पीडित हुनेहरूमा नब्बे वर्ष काटेकी वृद्धादेखि तीन वर्षकी अबोध बालिकासमेत रहेका छन् । सुनसरीमा एकपछि अर्को गर्दै हत्याका घटना भइरहेका छन् । विशेषगरी मुस्लिम समुदायका अगुवा हत्याको निशानामा पर्ने गरेका छन् । हत्याको शृङ्खला बढ्दै जानु र दोषी पक्राउ नपर्नुले सुनसरी आपराधिक गतिवधि बढ्दै गएको देखिएको छ ।

गत असोज ४ गते सुनसरी भोक्राहाका मौलाना खुर्सिद आलमको गोली हानी हत्या गरिएको दुई महिना बित्न नपाउँदै अर्को त्यस्तै घटना भयो । सुनसरीको दुहबीमा मुस्लिम अगुवा रहेका फिदा हुसेनको पनि अज्ञात समूहले नै गोली हानी हत्या ग¥यो । त्यो बीचमा इटहरीको खनारमा एक मुस्लिम युवाको पनि शङ्कास्पद हत्या गरियो । यी पछिल्ला उदाहरणले सुनसरीमा आपराधिक गतिविधि बढ्दै गएको प्रहरी आफै स्वीकार्छ ।