इटहरी/ चियानास्ता तथा विविध खर्चमा इटहरी उपमहानगरपालिकाले लाखौं रुपौयाँ सक्ने गरेको खुलसा भएको छ । इटहरी उपमहानगरपालिका आसपासका चियापसलहरूको नाममा उपमहानगरले लाखौं बिल भुक्तानी गरेको पाइएको छ । जनताबाट उठाएको कर वर्षेनी चिया, नास्ता र अतिथि सत्कार भनेर होटल र चियापसलमा सक्ने गरेको पाइएको हो ।

उपमहानगरपालिकाको कर्मचारीहरूले गत तीन आर्थिक वर्षमा ४६ लाख, ७३ हजार ३ सय ४५ रुपैयाँ चियाको नाममा झ्वाम पारेका छन् । चिया र नास्ता तथा विविध खर्चमा लाखौं रुपैयाँ सकिने गरेको इटहरी उपमहानगरपालिका आफै स्वीकार गर्छ । इटहरी उपमहानगरपालिकाका लेखाअधिकृत बाबुराम आचार्यका अनुसार आर्थिक वर्ष २०७२/७३ मा विविध खर्च भन्दै १० लाख ७६ हजार ८ सय ८५ खर्च भएको छ ।

चिया, नास्ता र अतिथि सत्कारको नाममा २ लाख ८ हजार ६ सय २५ रुपैयाँ र अघिल्लो वर्षको बाँकी रकम रु। ८४ हजार ५८ गरी १३ लाख ६९ हजार ५ सय ६८ भुक्तानी गरेको देखिन्छ । त्यस्तै आर्थिक वर्ष २०७३/७४ को विविध खर्च अन्तर्गत चियापसल र होटललाई ३ लाख ८४ हजार ५सय ८४ रुपैयाँ भुक्तानी दिएको छ भने चिया, नास्ता र अतिथि सत्कार बापत ६ लाख ५० हजार १ सय ९२ रुपैयाँ होटलहरूमा खर्चिएको छ । गत आर्थिक वर्षमा ११ लाख १८ हजार ४ सय ४६ खर्च गरेको छ ।

लेखापाल आचार्यका अनुसार २०७४÷०३÷३१ मा भएको स्थानीय निर्वाचन भई मेयर, उपमेयर निर्वाचित भई पनि चियानास्तामा २१ लाख ८५ हजार ३ सय ३१ मात्र खर्च गरिएको देखिन्छ । यो खर्चमा वडा कार्यालयहरूले खर्च गरेको तथ्याङ्क राखिएको छैन । खर्च बढी रहेकोमा आचार्यको पनि स्वीकारोक्ति छ । चियामा लाखौं रुपैयाँ बिल भुक्तानी लिनेमा इटहरी उपमहानगरपालिका आसपासका होटलहरू छन् । होटलहरू बिलभौचर मिलाउन माहिर छन् ।

इटहरीको पराजुली होटलले जनप्रतिनिधि आएयता ६ लाख ५८ हजार ५ रुपैयाँ भुक्तानी लिएको छ । त्यस्तै मीना होटलले ३ लाख ९७ हजार ६४ रुपैयाँ लिएको देखिन्छ । त्यस्तै मितेरी होटलले २ लाख ९३ हजार २ सय २० रुपैयाँ लिएको पाइएको छ । न्यू इटहरी चिया पसलले १ लाख ७७ हजार ८ सय ४० रुपैयाँ भुक्तानी लिएको छ । कामाख्या त्रियुगा होटलले ९८ हजार ८ सय १८ रुपैयाँ, विष्णु मिष्ठान्न भण्डारले ६२ हजार ९ सय ७५ रुपैयाँ र न्यू मितेरी होटलले ३३ हजार ३० रुपैयाँ भुक्तानी लिएको छ । इटहरीकै अमृता मःमः पसलले १८ हजार १ सय २५ रुपैयाँ भुक्तानी लिएको छ भने नाम नखुलेको होटलको नाममा पनि उपमहानगरपालिकाले ४ लाख ३९ हजार ६ सय ७४ रुपैयाँ भुक्तानी गरेको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद विमलीले चियाखर्चमा कटौती गर्न थालिएको बताए । ‘यसअघि अलि बढी खर्च देखिए पनि फागुनदेखि चियाखर्चमा कटौती गर्ने तयारीमा छौंं’ उनले भने, ‘कर्मचारीहरूले दैनिक दुईपटक चिया खाँदै आएका रहेछन्, अहिले हामी कटौती गर्दै छौं ।’

उपमहानगरपालिकामा बेरुजुको चाङ
सार्वजनिक निकाय तथा अन्तर्गतका विभिन्न कार्यालयका लेखा प्रणाली चुस्त नहुँदा बेरुजु फस्र्यौट चुनौती बन्दै गएको छ । सरकारी नीति एवम् कार्यशैलीका कारण बेरुजु फस्र्यौट बोझिलो बन्दै गएको हो । इटहरी उपमहानगरपालिकामा बेरुजुको चाङ देखिएको छ । पेश्की वितरणले निरन्तरता पाउनु, कानूनको पालनमा उदासिनता देखिनु र आन्तरिक नियन्त्रण प्रणाली फितलो हुनुजस्ता कारणले बेरुजु चुलिँदै गएको जानकारहरू बताउँछन् ।

आर्थिक वर्ष २०७२/७३ र आर्थिक वर्ष २०७३/७४ मा महालेखा परिषद्ले लेखापरीक्षणमा उपमहानगरपालिकाकोे २३ करोड ७३ लाख ३६ हजार ८ सय ३१ रुपैयाँ बेरुजु फस्र्यौट नभएको देखाएको इटहरी उपमहानगरपालिकाका लेखाअधिकृत बाबुराम आचार्य बताउँछन् । उनका अनुसार १८ करोड ४८ लाख ८३ हजार १ सय ४२ रुपैयाँ पेश्की फस्र्यौट हुन बाँकी छ । त्यस्तै उपमहानगरपालिकाले ८३ लाख २ हजार ४ सय ५३ जना सर्वसाधारणबाट असुल गर्नुपर्ने देखिन्छ । त्यस्तै नियमित बेरुजुमा ४ करोड ४४ लाख ५० हजार २ सय ६४ रुपैयाँ छ ।