विराटनगर /  खुल्ला सिमाको फाइदा उठाउँदै तस्करहरूले विभिन्न तरिका अपनाएर भए पनि सुपारी भारतसम्म पु¥याउने गरेका छन् ।
पहिलेको जस्तो चहल पहल नभए पनि तस्करीमा संलग्नहरुले प्रहरीको आँखा छलेर अहिले पनि विभिन्न नाकाबाट भारतर्फ सुपारी तस्करी गर्ने गरेको पाइएको हो ।
विराटनगरमा सुपारी तस्करी गर्नेहरुको ठूलो समूह रहेको छ । नेपालबाट भारतमा सुपारी पु¥याउँदा प्रतिकेजी ५० देखि ७० रुपैयाँ सम्म बढी मूल्य पाउने भएको कारण अवैध रुपमा तस्करी हुने गरेको हो ।
तेस्रो मुलुकबाट आयात हुने सुपारी निकासी गर्न पाइँदैन । कानुनत नेपालमै खपत हुनुपर्छ । तर, तेस्रो मुलुकबाट आयत भएको सुपारी विराटनगरका आयतकर्ताहरुले भरिया प्रयोग गरी अवैध रुपमा भारतर्फ लाने गरेको पाइएको छ ।
यसरी नै प्रहरीको आँखा छलेर अवैध रुपमा भारततर्फ लादै गरेको १५ केजी सुपारी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरी टोलीले विराटनगर– १७ स्लामपुर चोकमा नेपाल बाट अबैध रुपमा भन्सार छलि भारततर्फ लाँदै गरेको सुपारी पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए ।
प्रहरीले सुपारीसहित तस्करीमा संलग्न बिराटनगर महानगरपालिका– १७ का ५५ वर्षिय कान्ति रमात, सोही ठाउँका ५० वर्षिय महिमुन खातुन, २६ वर्षिय रसिदा खातुन, २७ वर्षीय जरिना खातुनलाई प्रहरीले पक्राउ गरेको हो । ‘प्रहरीलाई छलेर भारतर्फ सुपारी लान खोज्दै थिए,’ डिएसपी श्रेष्ठले भने, ‘अवैध रुपमा लान लगेको सुपारी प्रहरीले पक्राउ गरेको हो ।’ प्रहरीले पक्राउ गरेको चारै जनालाई थप कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा शुक्रबार बुझाएको मोरङ प्रहरीले जनाएको छ ।
यसरी हुन्छ सुपारी तस्करी
ठूल्ठूला व्यापारीले मिलेमतोमा तस्करी गरेपनि थोरै थोरै तस्करी गर्नेहरुले भने अनेक तरिका अपनाउने गरेका छन् । पुरुषहरुले रिक्साको सिटमुनि लुकाएर पारी लाने गरेका छन् । सुपारी वारिपारि गराउनेमा महिलाहरू पनि रहेका छन् । महिलाले कपडा वा बोराको धोक्रो बनाएर सुपारी भारतर्फ लाग्ने गरेको छन् । १ पटकमा यसरी १० देखि १५ किलोसम्म सुपारी भारत पुयाउने गरेको स्रोतको दाबी छ ।