धरान । बाह्र वर्षपछि  आज उपाधि होडमा पुगेको आयोजक धरान फुटबल क्लब अफ्रिकन टोली डाफिन्स क्यामरुनसँग आमनेसामने भइरहेकाे छ ।
आयोजकका लागि अनौठौ संयोग जुरेको छ । आठौं संस्करणमा उपविजेता बन्दा अफ्रिकन टोलीसँगै पराजित बनेको थियो । अफ्रिकन युनाइटेडसँग पराजित भएर उपविजेतामा बनेको आयोजकले २१ औं संस्करणमा पनि अफ्रिकन टोलीसँगै भेट गरेको छ । डाफिन्सले विभागीय टोली नेपाल पुलिस क्लबलाई शुक्रबार सडन डेथमा हराउँदै उपाधि होडमा आयोजकसँग भेट पक्का गरेको हो । डाफिन्सले ७/६ गोल अन्तरले खप्तड गोल्डकप विजेता पुलिसलाई स्तब्ध बनायो ।

पुलिसका बिक्रम धिमालको सातौं प्रहार डाफिन्सका गोलरक्षक प्रिसो एनडिङ्गाले रोके । खेलको म्यान अफ दी म्याच बन्दै नगद १५ हजार रुपैयाँ पाए । उपाधि होड शनिबार हुँदै छ । विजेताले नगद ८ लाख र उपविजेताले नगद ४ लाख रुपैयाँसहित टूफी पाउँदै छन् । खप्तड उचालेर यो सिजनको सुखद शुरुवात गरेको पुलिस र पोखराको मनकामना केबलकार कप उचालेको पाहुना टोली डाफिन्सले निर्धारित ९० मिनेट गोलरहित बराबरी खेले । त्यसपछि टाइब्रेकरमा पुलिसका अजित भण्डारी, देबेन्द्र तामाङ, भरत साह, तीर्थ राना मगर र हरि कठायत चुकेनन् । डाफिन्सबाट पनि सिलो मार्टिन्स, पेटनेगा, विथिक विथिक, इकावेम, यानिक ओबोलाको प्रहारले जाली चुम्यो । त्यसपछिको सडन डेथमा पुलिसका निरकुमार राईले गोलमा परिणत गर्दा बिक्रम धिमाल चुके ।

डाफिन्सका गोलरक्षक प्रिसो र जो अङ्गोउलाले सिधै जाली चुमाउदै फाइलनका लागि योग्य बने । अग्ला कदका क्यामरुनी खेलाडी लामो पासबाट गोलका अवसर सिर्जना गर्दा पुलिसका खेलाडीले टेक्निकल खेल खेल्दै विपक्षीको पोष्टमा प्रहार गरेका थिए । तर, पुलिसका खेलाडीलाई विपक्षीको रक्षापंक्ति तोड्न निकै गाह्रो भएको थियो । पुलिसको टिकीटाकालाई विपक्षीले तोड्दै डाफिन्सका खेलाडीले गोलका अवसर बुनेका थिए । दोस्रो हाफको ४० औं मिनेटमा यानिक आबोलाले हेडमार्फत् गोलरक्षकलाई बिट भएर गोलमा परिणत हुन लागेको बललाई रक्षापंक्तिका खेलाडी बिक्रम धिमाले सुन्दर बचावट गरे ।
त्यही अवसर नै पुलिसका लागि टाइब्रेकरमा लाने माध्यम बन्यो । तर, सडन डेथमा चुक्दा पाँच पटक विजेता पुलिस सेमिफाइनलबाटै घर फिर्न बाध्य भयो । पुलिसका प्रशिक्षक अनन्त थापा मगरले खेल राम्रो भए पनि टाइब्रेकर नै हारको कारण बनेको बताए । त्यस्तै डाफिन्सका प्रशिक्षक ओरेलले आफ्ना खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेको बताए ।