ताप्लेजुङ/ विगत सात वर्षदेखि व्यावसायिक रूपमा च्याउ खेती गर्दै आएका ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका कृषक रमेश राईले मुस्कुराउँदै भने, ‘ससुरालीमा पाहुना जाँदा च्याउको स्वाद लिएपछि च्याऊ खेती गर्ने सोच पलाएर आयो, त्यो बेलादेखि नै च्याउ खेती शुरु गरेँँ, शुरुमा लगानी डुब्ला कि भन्ने चिन्ता थियो, अहिले उपभोक्ताको मागअनुसार नपु¥याइएला कि भन्ने पिर छ ।’

राईले सदरमुकाम फुङलिङमा झण्डै ३ रोपनीभन्दा बढी जग्गा भाडामा लिएर च्याउ खेती गरेको सातवर्ष नाघ्यो । शुरुमा आफ्नो उत्पादनले बजार नपाउने पो हो कि भन्ने चिन्ता खेपिरहेका राईले क्रमशः माग बढ्दै गएपछि खेती विस्तार गर्दै गए । अहिले च्याउ खेतीबाट नै मासिक लाखौँ रुपैयाँ आम्दानी हुन थालेपछि निकै उत्साहित बनेको राई बताउँछन् ।

‘महिनामा झण्डै एक लाख बढीको आम्दानी हुन्छ, त्यही आम्दानीले परिवार पालेको छु, अरु तीन जनालाई रोजगारी पनि दिएको छु, मिहिनेत गर्दा हुने रहेछ भन्ने विश्वास छ ।’ राईले भने । ठाउँअनुसार मिहिनेत गर्नसके युवाहरू विदेश पलायन हुनु पर्ने अवस्था नआउने राई बताउँछन् । ‘पहिले मेरो आम्दानीको स्रोत केही थिएन, के गर्ने के नगर्ने भन्ने पिरलो थियो, तर जब व्यावसायिक च्याउ खेती गरेर मिहिनेतका साथ काम गरेँ, राम्रो आम्दानी लिन थालेको छु, मालिक पनि आफैं, कामदार पनि आफैं, कमाइ पनि आफ्नै भएपछि स्वदेशमै मिहिनेत गर्नुको मज्जा बेग्लै छ ।’ राई भन्छन् । शुरुमा च्याउ खेतीका लागि पूर्वाधार तयार गर्न निकै झण्झट भए पनि त्यसपछि भने समस्या नहुने पनि उनले सुनाए । उनले आधा दर्जन छाप्राहरू बनाएर पराले र सिताके दुई थरीका च्याउ उत्पादन गर्दै आएका छन् ।

शुरुमा पराले च्याउमात्रै उत्पादन गर्दै आएका राईले उपभोक्ताको मागअनुसार पछिल्लो समयमा सिताके च्याउसमेत उत्पादन गर्न थालेका हुन् । आफूले उत्पादन गरेको च्याउ स्थानीय बजारदेखि झापा, धरान, काठमाडौंसम्म पुग्ने गरेको राईले बताए । स्थानीय बजारमा पराले च्याउ प्रतिकिलो २ सयदेखि २५० रुपैयाँमा र सिताके च्याउ ६ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको राईको भनाइ छ ।

दैनिक १५–२० किलोसम्म च्याउ टिपेर बजारसम्म पुर्याउने गरेको उनले बताए । पहिलेको तुलनामा आजभोलि च्याउ खाने उपभोक्तासमेत बढ्दै गएको उनको अनुभव छ । विभिन्न समयमा च्याउ खेती सम्बन्धी तालिम लिएर च्याउ खेती गर्दै आएका राईले आफूसँग लामो अनुभव भएको सुनाउँदै कसैले सिक्न चाहे सहयोग गर्न पनि तत्पर रहेको बताए । च्याउ खेतीबाट ठूलो सम्भावना देखेका उनले राज्यले च्याउ खेती गर्ने किसानका लागि लगानी गरे च्याउ खेतीको प्रवर्द्धनमा टेवा पुग्ने बताए ।

नेपालमा उत्पादित च्याउलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सकिने उनको भनाइ छ । पराले च्याउ उत्पादन गर्न परालकै प्रयोग गरिन्छ भने सिताके च्याउका लागि भने उत्तिस, कटुसलगायतका मुढा चाहिन्छ । सिताके च्याउ उत्पादन गर्न खर्च पनि लाग्ने र समयसमेत लाग्ने भएकाले अन्य च्याउको तुलनामा महँगो पर्ने कृषकहरू बताउँछन् ।