धरान / राष्ट्रिय विभूति शङ्खधर साख्वाः अपहेलित बनेको छ भने त्यो धरानमै छ । धरान–३ चिनिया चोकस्थित शाख्वाको अर्धकदको प्रतीमा राखिएको ‘ज्येष्ठ नागरिक पार्क’ निर्माण सामग्री राख्ने थलो बनेको छ ।

‘वन वे’ रोडको धरानको माछाभौडीदेखि धरान–१ को रेडक्रस चोकसम्मको बाटो विस्तारका क्रममा केही महिनादेखि पार्क निर्माण सामग्री राख्ने थलेको बनेको हो । ठेकेदार कम्पनीले निर्माण सामग्री राखेका कारण राष्ट्रिय विभूति नै अपहेलित भएको नेवाः पत्रकार राष्ट्रिय दवूःका संस्थापक महेश श्रेष्ठले बताए । धरानमा जनसङ्ख्याका हिसाबले राइ, लिम्बूपछि नेवार तेस्रो जातिमा अाउछ । तर, विभूतिको अवस्था हेर्दा भने टिठ लाग्दो रहेको श्रेष्ठले बताए ।

करिब ४ वर्षअघि धरान उपमहानगरपालिकाले ‘ज्येष्ठ नागरिक पार्क’ निर्माण गरेको थियो । वृद्धवृद्धालाई बस्न तथा साँझको समयमा टहलिनका लागि करिब साढे १२ लाख रुपैयाँको लागतमा पार्क निर्माण गरिएको थियो । तर, सडकको चौडाइ बढेका कारण पार्ककाे अाधा भाग काटिएपछि लथालिङ बनेको छ । धरान–३ नम्बर वडाध्यक्ष आशाकुमार श्रेष्ठले सडक निर्माण भइरहेकाले केही लथालिङ अवस्थामा देखिनु स्वभाविकै भएको बताए । उनले भने, ‘बाटो बन्दै छ । अपमान भन्ने शब्द नै भएन । विकास पनि हुँदैछ । सधैको लागि होइन, पछि पार्क नै बनाउने सल्लाह छ ।’

उनले पार्क निर्माणमा वडाको पनि कर्तव्य रहेको बताए । निर्माण सामग्री राखिएको विषयमा उनले प्रष्टाउँदै भने, ‘सामग्री राख्ने ठाउँ पनि त छैन । ठेकेदारले हामीसँग सल्लाह लिएरै त्यहाँ राखेको हो ।’ यो विषयमा समाजसेवी सरला कायस्थले आफूहरूले यो विषयमा ३ नम्बर वडाध्यक्षलाई कुरा यसअघि नै राखिसकेको तर, निर्माण सामग्री राख्ने ठाउँ नभएकाले पनि त्यो ठाउँलाई हाल प्रयोग गरिरहेको जवाफ जनप्रतिनिधिबाट आएको बताइन् । ‘विभूतिलाई अपहेलना गरेको देखिएपछि हामीले कुरा उठाएकै हो । त्यसपछि हामीले वडाध्यक्षलाई कुरा राख्यौं । केही दिनका लागि हो भनेर जवाफ आएको छ ।’-उनले फाेनसम्पर्कमा भनिन् । 

धरान उपमहानगरले २०६७/०६८ मा पार्क निर्माण गर्ने भन्दै त्यहाँका कुखुरा व्यापारीहरूलाई हटाएको थियो । पार्कका लागि बारबेरा र पार्कमा बस्ने चौताराहरू निर्माण गरिएको थियो । त्यसका लागि नगरपालिकाले दुई आर्थिक वर्षमा करिब १२ लाख भन्दा बढी खर्च गरेको नगरपालिकाका बरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले जानकारी दिए । मन्त्रीपरिषदको निर्णयअनुसार २०५६ मंसिर २ गतेदेखि शङ्खधर साख्वाःलाई नेपालको राष्ट्रिय विभूतिका रूपमा घोषणा गरिएको थियो । साख्वाः नेपाल सम्वतका प्रवर्तक मानिन्छन् । तात्कालीन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०६५ कात्तिक ७ गते बाट नेपाल सम्वतलाई राष्ट्रिय सम्वतरूपमा घोषणा गरेको थियो ।