इटहरी/लामो समयसम्म विदेशमा रोजगारी गरेर आफ्नै देश फर्किएकाहरू स्वदेशमा बेरोजगार हुनु परेको गुनासो गरेका छन् । विदेशमा परिश्रम गरेर केही समय आयआर्जन गरे पनि घर फर्किंदा बेरोजगार हुनु परेको उनीहरूको गुनासो छ । विदेशी सीपलाई आफ्नो देशमा कार्यान्वयन गर्ने वातावरण नभएको भन्दै उनीहरूले विदेशिनुको विकल्प नभएको गुनासो गरे ।

कतारबाट फर्केर आएका रिटर्नी माइग्रेण्ड नेपाल मोरङका अध्यक्ष राजु भट्टराईले भने, ‘विदेशमा सिकेको सीप यहाँ देखाउन चाहान्छौं तर वातावरण बनेन ।’ राज्यले नखोज्दा विदेशबाट आएकाहरू समस्यामा पर्दैै आएको बताउँछन् । ‘यहाँ आएर काम गर्ने वातावरण समेत छैन त्यो वातावरण सरकारी पक्षले बनाउनु पर्छ ।’ भट्टराईले भने ।

रिटर्नी माईग्रेण्ड नेपाल भोजपुर संयोजक मिनध्वज कार्कीले विदेशमा बसेर आएका सबै बेरोजगार हुने बताए । ‘सामाजिक घुलमिलसमेत हुँदैन, विदेशमा गरेको दुःख आफ्नै देशमा गर्न पाउनु पर्छ, त्यो हाम्रो माग हो,’ कार्कीले भने, ‘विदेशमा बसेर आएकाहरूको तथ्याक सङ्कलन गरी उनीहरूको दक्षता, क्षमताको पनि मापन हुनु पर्छ, राज्यले विदेश जानेहरूको तथ्याङ्कसमेत राखेको छैन यो अनिवार्य राख्नु पर्छ ।’
रिटर्नी माईग्रेण्ड नेपाल तेह्रथुमका संयोजक देवेन्द्र सुवेदीले आफू कतारबाट आएको तर अहिले बेरोजगार हुनु परेको सुनाए । विदेशबाट आएकाहरू के काम जान्दछन् कसरी घरबार चलाउँछन् भन्ने विषयमा जानकारसमेत नभएको बताए ।

नेपाल सरकारले वैदेशिक रोजगारबाट फर्किनेहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनकक्षको भन्सार शाखामा भन्सार असुलीको नाममा गरिने अपहेलना र निम्नस्तरको व्यवहारप्रति उनीहरूले आपत्तिसमेत जनाए । वैदेशिक रोजगारबाट स्वदेश फर्किएकाहरूको छाता संस्था रिटर्नी माइग्रेण्ड नेपाल प्रदेश–१ का संयोजक गोकुलबहादुर थापाले विदेशबाट आउनेको तथ्याङ्क खोज्नु पर्ने बताए । उनले विदेशबाट आउनेको तथ्याङ्क राखी सरकारलाई बुझाइने बताए ।

स्वदेशमा उचित रोजगारको अवस्था नहुँदा बाध्यताबस परिवार पाल्नकै लागि विदेशिएका नेपालीहरू केही समयका लागि आफ्नो परिवारसँग भेट्न छुट्टीमा आउँदा परिवारका लागि ल्याएका केही थान मोबाइल, घडी, ल्यापटप, लत्ताकपडा तथा सामान्य पेयपदार्थ जफत गर्ने व्यवहारले विदेशबाट आउनेहरूको आत्मसम्मानमा चोट पुगेको थापा बताउँछन् ।