देउराली । धनकुटाको चुङ्बाङमा सामान्य किसान परिवारमा जन्मेका शम्भु राई आज नेपाली संगीत बजारका एक प्रतिष्ठित ताराका रूपमा परिचित छन् ।

पूर्वीय भाकाका गीत, संगीतमा महत्वपूर्ण योगदान दिएका राईको ‘चलेछ बतास सुस्तरी मनै हरर, चिट्ठी तिमीलाई लेखु भन्छु’ लगायतका दर्जन बढी गीतले बजार पिटेका छन् । हाटबजार, स्कुलहरुका साथै गाउँ घरमा सानै उमेरदेखि गुनगुनाउने उनी गीतसंगीतप्रति सानैदेखि रुची थियो । सानै उमेरमा बुबाको निधनले मर्माहत भएका उनी धनकुटामा रहदा समाजमा गरिब तथा तल्लो स्तरका मानिसहरूलाई सम्पन्न तथा पहुँचवालाहरूले गर्ने थिचोमिचोलाई प्रत्यक्षरूपमा भोगेका थिए ।

अन्यायका विरोधी राई तात्कालीन पञ्चायती व्यावस्थाका विरुद्धको आन्दोलनमा सांगीतिक मण्डलीको एक सदस्यका रूपमा आन्दोलनमा होमिए । तात्कालीन समयमा उनी जनतालाई संगीतमार्फत् समाज र व्यवस्था विरुद्धको आवाज गुनगुनाउथे । प्राय किरात समुदायमा आर्थिकरूपमा सबल बन्नको लागि लाहुर जाने गरे तापनि उनी भने त्यो सोचबाट कहिल्यै ग्रसित बनेनन् ।

उनि भन्छन्, ‘राजनीतिक, सांस्कृतिक, आर्थिक, सामाजिक यी विषयहरू एक अर्काका परिपूरक हो ।’ उनी थप्छन्, ‘हाम्रो संस्कारमा, समुदायमा तल्लो घरको दाइ लाहुर जाने त्यो देखेर माथ्लो घरको दाइ पनि लाहुर जाने चलन थियो । कतिपय बाध्यता पनि हो त्यस्तो अवस्थामा मेरो चाहिँ सांगीतिक अलि बढि रुचि र गाउँघरमा ठूलोले सानेलाई दबाएको, सानेले हार्दिनु पर्ने, सानोले सहि दिनुपर्ने, सय रुपैयाँ लिदा हजार रुपैयाँको तमसुक गर्नुपर्नेजस्ता गलत परिपाटीको विरुद्धमा भित्रैबाट लड्न मन लाग्यो ।’

साराङ्गी बजाउदै गाउँदै गीत सुनाउँदै, मानिष छुतअछुत हुन्छ म भन्दै भन्दिन जाति र पाती छुट्याउने रीतलाई म मान्दै मान्दिनजस्ता धेरै जनवादी गीत पनि गाएका छन् । आफुले गरेको आन्दोलनले केही प्राप्ति गरेको बताउने राई भन्छन्, ‘केही परिर्वतन भएको छ । तर यी पर्याप्त छैनन् । समाज परिर्वतनशील छ, व्यवस्था तयार पार्नेहरू पनि परिर्वतनशील हुनुपर्छ हैन भने नयाँ पिढिँले फेरि परिर्वतनका लागि आन्दोलित हुनुपर्ने हुन्छ ।’

 

यसरी संगीतकै माध्यमबाट बिभिन्न आरोह–अवरोह गरिरहदा नै ‘चलेछ बतास सुस्तरी’ बोलको गीतले आफ्नो सांगीतिक यात्राले फड्को मारेको स्मरण गर्छन् । अहिले र पहिलेको पूर्वीय संगीतलाई नियाल्दा पहिले र अहिले टेक्नोलोजीमा धेरै परिर्वतन भएको, नराम्रालाई पनि टेक्नोलोजी प्रयोग गरेर राम्रो बनाउन सकिने बताउछन् । उनी भन्छन्, ‘खासै भिन्नता त छैन तर प्रस्तुतिका केही परिर्वतन भने अवस्य भएको हो ।’

 

संगीतमा आफ्नो अन्य प्रतिस्पर्धी नभएर आफ्नै गीतहरूले आफैँलाई चुनौती दिने गरेको उनी बताउँछन् । भन्छन्, ‘गीत संगीतमा यसरी आउँछु भन्ने त लागेको थिएन तर मेरो सानैदेखिको संगीतप्रतिको रुचि र तपाईंहरूको माया ममताले म आज यहाँसम्म आइपुगेको हुँ ।’